जानु पाण्डे
कपिलवस्तु, पुस १० गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।
घोषणा सभामा बोल्दै सभामुख घर्तीमगरले बालविवाह तथा छुवाछुतलाई कानुनले वर्जित गरेपनि समाजमा अझै पनि देखिएको बताउनुभएको छ । उहाँले घोषणासँगै व्यवहारमा उतार्नका समुदायलाई सचेत गराउन पर्ने बताउनुभयो । "अब बालबालिकालाई मात्र होइन बुवा आमालाई पनि सचेत गराउन पर्छ । कुरीतिलाई जरैबाट हटाउन विद्यालयमा अतिरिक्त पाठ्यवस्तु समावेश गर्न जरुरी छ," सभामुख घर्तीमगरले भन्नुभयो ।
घोषणा समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरी, लुम्बिनी प्रदेश पूर्व मन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आचार्यले मधेसमा सामाजिक विकासको लहर चल्न लागेको बताउनुभयो । पालिकाका दुई वडामा बालविवाह र छुवाछुत मुक्त अभियान सफल भएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो ।
यस्तै, अघिल्लो वर्ष वडा नम्बर १ मुक्त घोषणा गरिएको थियो । तीन वर्षभित्र गाउँपालिका बालविवाह र छुवाछुत मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
पालिकाको २ नम्बर वडा कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति, किशोरकिशोरी सञ्जाल तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको वडा अध्यक्ष मनोज कुमार यादवले बताउनुभयो । वडामा २०१९ मा १० प्रतिशत बालविवाहको तथ्याङ्क थियो ।
अघिल्लो वर्ष २ प्रतिशत र चालु वर्षमा बालविवाह शून्य रहेको सिद्धार्थ सामाजिक केन्द्रका कार्यक्रम संयोजन धनेश्वरी घर्तीले बताउनुभयो । किशोरकिशोरी समूहको सक्रियतामा गत वर्ष जन्ती आएको विवाह रोक्न सफल भएको किशोर किशोरी सञ्जालका सदस्य पुनम थारुले बताउनुभयो ।