• १५ मंसिर २०८१, शनिबार

पर्यटकको पर्खाइमा तपोभूमि

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ), पुस १० गते । अग्लो पहाडको टुप्पो। वरिपरि घना जङ्गल। दर्जन हिमालको लस्कर । सुन्दर ग्रामीण बस्तीका दृश्य । अनुपम प्राकृतिक सौन्दर्यका दृश्यका बिच रहेको छ, गाम्फाधुरी । यो १००८ स्वामी प्रमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिक स्थल हो । म्याग्दीको मङ्गला गाउँपालिका–४ र छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका–३ को सिमानामा पर्ने गाम्फाधुरी समुद्री सतहदेखि तीन हजार नौ मिटर उचाइमा छ । 

गाम्फाधुरीमा स्वामी प्रमानन्दले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ । यहाँ ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ । तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्य र प्राकृतिक सुन्दरताले सबैलाई मोहित बनाइदिन्छ भने उकालोको थकान मेटिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले धेरैलाई आकर्षित गर्छ ।  

वडा कार्यालय मङ्गला–४ ले गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि पहल थालेको छ । वडाध्यक्ष लालबहादुर रोकामगरले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडाले पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी प्रमानन्दज्यूले तपस्या गरी ज्ञान प्राप्त गर्नुभएको ऐतिहासिक स्थल पनि हो । यहाँ भग्नावशेषका रूपमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गर्न सके ठुलो सङ्ख्यामा तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।” विसं २०१७ देखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी प्रमानन्दबाट स्थानीय छविप्रसाद साहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । स्वामी प्रमानन्दले २०१८ सालमा सोही वडाको दुर्दीमा शिवालय मन्दिर स्थापना गर्नुभएको थियो । 

तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी प्रमानन्दसहित उहाँका चेला छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडाध्यक्ष रोकाले योजना सुनाउनुभयो । उहाँले थप्नुभयो, “गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको व्यवस्था गरिदिन माग गरिसकेको छु ।” 

गाम्फाधुरीबाट मानापाथी, अन्नपूर्ण, धवलागिरि, गुर्जा, चुरेन माछापुच्छ«ेलगायत दर्जन हिमालको लस्कर देख्न सकिने वडा सदस्य होममाया पुन बुढाथोकीले बताउनुभयो । साथै म्याग्दीका अधिकांश क्षेत्र, बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाका विभिन्न ग्रामीण र बजारको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाका सब–इन्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने बताउनुभयो ।