• ११ मंसिर २०८१, मङ्गलबार

मौलिक परिकार यःमरि

blog

कुनै बेला काठमाडौँ उपत्यकामा १२ वर्षसम्म वर्षा नभएर अनिकाल पर्दा हाहाकार मच्चियो । अनिकालबाट बच्न बुंगद्यः भनेर चिनिने रातो मच्छिन्द्रनाथलाई दक्षिण भारतको कामारू कामाक्षबाट अनेक जुक्ति लगाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक किसानले ल्याएका थिए । बुंगद्यःलाई कृषि विशेषज्ञका रूपमा पनि मानिन्छ । बुंगद्यःले नै धानको खेती गर्न लगाए । धान फलेपछि सबभन्दा पहिला काठमाडौँका कृषकले यःमरि बनाएर खाएको भन्ने जनविश्वास छ । त्यसैले यःमरिलाई भातभन्दा जेठो खानाका रूपमा पनि मान्न सकिन्छ । यःमरि नाम लिनासाथ सबैको मुख रसाउँछ । नेपालभाषामा ‘यः’ को अर्थ मन पर्ने र ‘मरि’ को अर्थ रोटी हो । अर्थात् यःमरिको अर्थ मन पर्ने रोटी हो । 

यःमरि नेवाः समुदायभित्र मात्र प्रचलित छैन, सबैले खान रुचाउँछन् । यःमरिको स्वाद विदेशीहरूमा झन् लोकप्रिय भइसकेको छ । यसको उदाहरण नेपाली नागरिक सन्तोष साह ‘मास्टर सेफ युके २०२०’ मा यःमरि बनाएर फाइनलसम्म पुग्न सफल हुनुभएको थियो । उक्त प्रतियोगितामा मास्टर सेफ सन्तोष साहले दोस्रो स्थान ओगट्न सफल हुनुभएको थियो । यस कारण पनि यःमरि नेपालमा मात्र होइन, विश्वभरिका मानिसलाई अति नै मन पर्ने खानाका रूपमा रहेको प्रमाणित हुन्छ । नेपाल संवत् अनुसार थिंलापुन्हिको दिनलाई यःमरि पुन्हि भनेर मनाइन्छ । यस दिन नेवार समुदायले घरघरमा यःमरि पकाएर खाने मात्र होइन, दान पनि दिने चलन छ । यस दिन टोलटोलमा देउसी/भैलो खेले जस्तै गरी माग्न आउनेलाई यःमरि दान दिने परम्परा छ । यसले के स्पष्ट हुन्छ भने नेवाःहरू आफू मात्र खाने होइन कि अरूलाई पनि बाँडेर चाडबाड रमाइलो गरी मनाउँछन् भन्ने बुझिन्छ । 

यःमरि नेवार समुदायको मौलिक खाना हो भने यःमरि पुन्हि नेवाःहरूको मौलिक चाड हो । नयाँ धान भित्र्याएपछि त्यस धानको चामलबाट पिठो पिनेर यःमरि बनाइन्छ । यो यःमरि सबभन्दा पहिले लक्ष्मी, कुबेर, ढुकुटी तथा कुलदेवतालाई चढाइन्छ । अनि मात्र आफ्ना घरपरिवार र छरछिमेकीलाई खुवाइन्छ । यस दिन विभिन्न समुदायले धान्यपूर्णिमा वा उँधौली भनेर पनि मनाउँछन् । बौद्धमार्गीहरूले भने स्वयम्भू, चैत्य र बौद्ध विहारहरूमा भजनकीर्तन वा स्तोत्र पाठ गरेर प्रार्थना गर्ने चलन पनि छ । नेवाःहरू पहिलेदेखि नै धर्म र संस्कारमा अति नै धनी छन् । नेवाः समुदाय एउटा यस्तो समुदाय हो; जसले समय र मौसम अनुसार स्वास्थ्यवर्धक खानपिन गरी आफ्नो स्वास्थ्य र शरीरलाई मौसम अनुकूल बनाइराख्छन् । 

यो बेला निकै चिसो हुने भएकाले शरीरलाई तातो दिनका लागि पनि यो परिकार खाइन्छ । यो परिकार बनाउँदा चामलको पिठोलाई तातोपानीमा मुछेर त्यसमा चाकु राखिन्छ । चाकुमा स्वाद अनुसार भुटेर पिनेको तिल राखिन्छ । चामलको पिठोलाई माथितिर चुच्चो गरी बिचको भाग लाम्चो गोलाकारमा चैत्यको आकार गरी तलको भागमा औँलाको सहायताले प्वाल बनाएर त्यसमा चाकु र तिलको मिश्रण भरेर प्वाललाई बन्द गरिन्छ । त्यसपछि यसलाई पोटासि (माटोको भाँडा जसको तलपट्टि प्वाल प्वाल परेको हुन्छ) अथवा मम पकाउने भाँडामा बफाएर पकाइन्छ । 

यःमरि बुद्ध भगवान्को चैत्य आकारमा बनाइने भएकाले यो रोटी विशुद्ध शाकाहारी खानाका रूपमा खाने गरिन्छ भने मासु राखी यो परिकार बनाउनु हुँदैन भन्ने जनविश्वास छ । बरु यसमा खुवा राखेर पनि बनाउने चलन छ । त्यस्तै यःमरि बनाउनका लागि विशेष गरी ताइचिन चामललाई पानीले पखालेर घाममा सुकाई पिनेर बनाएको पिठोबाट बनाउँदा यसको आकार प्रकार राम्रो भई मिठो हुन्छ । यःमरि बफाएर पकाउने भएकाले स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ तर यसमा चाकु राख्ने भएकाले मधुमेह र कमलपित्तका रोगीलाई भने पचाउन गाह्रो हुन सक्छ । 

यस दिन नयाँ अन्न राखेको भकारी र भण्डारमा यःमरिको साथसाथै चामलको पिठोले बनाएको गणेश, लक्ष्मी, कुबेर, ख्याक, नाङ्लो, कछुवा, हात्ती तथा पशुपन्छीहरूको आकार प्रकार पनि कलात्मक रूपमा बनाइन्छ । दुई वटा ठुल्ठुलो यःमरि मायो र बायो भनी बनाउने चलन छ । यस प्रकार बनाएका रोटीहरूलाई भकारी वा ढुकुटीमा चढाएर पूजा गरिन्छ । यस दिन पूजा गरिने लक्ष्मीलाई धान्यलक्ष्मी भनिन्छ । यःमरि भकारी वा ढुकुटीमा राखेर पूजा गर्दा धनसम्पत्ति र अन्नको कहिल्यै कमी हुँदैन, सधैँ लक्ष्मीले वास गर्छन् भन्ने धार्मिक विश्वास छ । यसरी चढाएको यःमरिलाई पूजा गरेर चार दिनपछि मात्र निकालेर प्रसादका रूपमा बिहे गरेर गएका छोरीबेटीलाई बोलाई आगोमा वा मकलमा सेकाएर ख्वाउने चलन छ तर यसरी मकलको आगोमा यःमरि तताएर खाने चलन भने प्रायः हराइसकेको छ । 

यःमरि कहिलेदेखि बनाएर खान थालियो भन्नेबारे एउटा किंवदन्ती यस्तो छ : धेरै पहिले पनौतीमा एक जना सुचन्द्र नाम गरेका महाजन थियो । उनी धर्मात्मा थिए । उनकी श्रीमती पनि धर्मात्मा थिइन् । थिंलापुन्हिका दिन महाजन दम्पतीले बिहान सबेरै नुहाइधुवाई गरेपछि नयाँ चामलको पिठो पिनेर रोटी बनाए । त्यसमा चाकु र तिल पनि मिसाएर बफाए । सबभन्दा पहिले धनधान्य लक्ष्मी र कुबेरलाई चढाए । त्यसरी बनाएको रोटी प्रसादका रूपमा सबैलाई बाँडी ख्वाए । यसरी चाकु र तिल मिसाएर रोटी बनाएर ख्वाउँदा सबैले मिठो माने । यो कुरा थाहा पाएपछि एक दिन कुबेर भगवान् आफ्नो रूप बदलेर जोगीको भेषमा सुचन्द्रकोमा भिक्षा माग्न आए । 

सुचन्द्र महाजनले पनि जोगीलाई पेटभरि यःमरि ख्वाए । महाजनले अरू देवीदेवताहरूको साथसाथै आफूलाई पनि सँगै राखेर पूजा गरेको देखेपछि कुबेर अति नै प्रसन्न भएर सुचन्द्रलाई अझ बढी धनसम्पत्तिले भरिपूर्ण होस् भनी बरदान दिएर गए । त्यस बेलादेखि सुचन्द्र महाजन झन् झन् धनी हुन थाले । आफू यसरी झन् धनी हुँदै गएका कारण महाजनले अरूलाई पनि भने । महाजनको कुरा सुनेर अरूहरूले पनि महाजनले जस्तै धान्यपूर्णिमाको दिन नयाँ अन्नबाट यःमरि पकाएर धनधान्य लक्ष्मी र कुबेरलाई चढाए । अरूलाई पनि यःमरि दान दिन थाले । 

यःमरि पुन्हि नेपालको मौलिक पर्व र यःमरि नेपालको मौलिक खाना हो । विशेष गरी यःमरि पुन्हिलाई किसानले विशेष महìव दिएर मनाउँछन् । त्यसैले यस दिन ज्यापू समुदायले ज्यापू दिवस मनाउँछन् ।   

Author

मीना वज्राचार्य