राजु लामिछाने
रुकुमपश्चिम, पुस ९ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा सुरु भएको छ । आइतबार एक कार्यक्रमकाबिच आठबिसकोटका नगरपालिका प्रमुख रबी केसीले मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ गर्नुभएको हो ।
मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ कार्यक्रममा नगर प्रमुख केसीले जनताको घर नजिक सेवा दिने क्रममा यी दुई कार्यालयबाट पनि सेवा सुरु गरिएको बताउनुभयो । उहाँले मालपोत र नापीकै कामको लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य समेत भएको उल्लेख गर्नुभयो ।
दुई कार्यालयमा पहिलो सेवाग्राहीका रूपमा स्थानीय देउदत्त बटाला र प्रेम बहादुर शाहीले सेवा लिनुभएको छ । उहाँहरूलाई नगर प्रमुख केसीले जग्गा धनी प्रमाणपत्रसहित कागजात हस्तान्तरण गर्नुभएको छ ।
२०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेलधुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आठबीसकोटमा स्थापना भएका दुवै कार्यालयलाई सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा आठबिसकोटका नगर प्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, कर्मचारी, जनप्रतिनिधि, स्थानीयलगायतको उपस्थिति रहेको थियो । गाउँकै मालपोत र नापी कार्यालयको सेवा सुरु भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।