भावना जोशी
अत्तरिया, पुस ८ गते । नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताउनुभएको छ। आइतबार कैलालीको धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले गठबन्धनमा भएको सहमति अनुसार प्रचण्डसँग एक वर्ष मात्रै समय रहेको उल्लेख गर्नुभएको हो ।
"हामीलाई आधिकारिक जानकारी त दिइएको छैन, तर सुन्नमा आए अनुसार प्रचण्डलाई दुई वर्षको समय छ," उहाँले भन्नुभयो, "अब एक वर्ष मात्रै उहाँसँग छ । अझै तदारुकताका साथ अगाडि बढेर काम गर्नुपर्छ । पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नुपर्छ ।" "प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाबिच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ", उहाँले भन्नुभयो, "माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनुपर्छ शेरबहादुर देउवा पनि बन्नुपर्छ ।"
नेपालको अर्थतन्त्रमा केही सुधार भए पनि अरू सूचकहरूमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । पुँजीगत खर्च अझै बढ्न नसकेको उहाँले बताउनुभयो । "अर्थतन्त्र कमजोर हुँदा रुसको सेनामा पनि गैर कानुनी रूपमा जानुपर्ने बाध्यता आएको छ, मन्त्री फेर्ने कुरा उचित होइन । तीन पटक प्रधानमन्त्री फेर्ने भनेको छ तीन पटक प्रधानमन्त्री फेर्दा मन्त्री ६ पटक फेर्ने कुरा ठिक भएन । प्रधानमन्त्री फेर्दा मन्त्री बदलिने कुरा ठिक हो", पाण्डेले भन्नुभयो ।
साझा म्यान्डेटलाई खण्डित हुन नदिने गरी पूरै कार्यकाल गठबन्धनको सरकार टिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो । "मिश्रित राजनैतिक प्रणालीबाट पनि स्थायित्व दिनका लागि भएको सहमति कार्यान्वयन गर्नुपर्छ", उहाँले भन्नुभयो, "कांग्रेसले सानातिना चलखेलमा लाग्नुहुँदैन ।"
नेपाली कांग्रेसमा पनि अहिले सुस्तता आएको छ । पार्टीको कोषाध्यक्ष पद खाली छ । केन्द्रीय सदस्य पद मनोनीत हुन बाँकी छ । महासमिति बैठक नियमित बस्न सकिरहेको छैन । पार्टीको दोस्रो वरीयतामा शेखर कोइरालालाई स्थान दिन उपयुक्त रहेको पाण्डेले बताउनुभयो । पाण्डे शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्वमा भूकम्पको क्षति र त्यसले शिक्षा र स्वास्थ्य संस्थामा पुगेको क्षतिको विवरण हेर्ने र अध्ययन गर्न सुदूरपश्चिम भ्रमणमा आउनुभएको हो ।