काठमाडौं, पुस ८ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताउनुभएको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका प्रमुख अतिथि समेत रहेका नेता महरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनताको म्यान्डेटबाट चुनिएर संसद्मा गएका नेता र मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताउनुभएको हो ।
"सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो । वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनुभएको छ। यो स्वीकार्य हुँदैन," उहाँले भन्नुभयो । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक केही मन्त्रीले उक्त अभिव्यक्ति दिनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझै गति लिन नसकेको महरको टिप्पणी छ। "सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो । त्यो हुन सकेको छैन । युवाहरूमा चरम निराशा बढ्दो छ । दिनहुँ एयरपोर्टमा बिदेसिने युवाको लर्को थपिँदो छ । सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ", उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस गठबन्धनको सबैभन्दा ठुलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बेला आइसकेको उहाँले औँल्याउनुभयाे ।
अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको उहाँको भनाइ छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उहाँको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताउनुभयो ।
"उहाँले प्रधानमन्त्रीका रूपमा बाहिरिँदा एक कमण्डलु। एक छाता र बैसाखी बोकेर बाहिरिएको इतिहास हामीसामु छ। राजनीति जनताका लागि गर्ने हो। अहिलेका राजनीतिज्ञले किशुनजीको यो आदर्शबाट पाठ सिक्नुपर्छ," उहाँले भन्नुभयो ।
नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं. १९८१ सालमा जन्मिनु भएको थियो भने उहाँको २०६७ निधन भएको थियो । युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसद्को पहिलो सभामुख चुनिएका थिए । उहाँ २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुन:स्थापनासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एक वर्षमै संविधान बनाउन सफल हुनुभएको थियो ।
वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
२०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उहाँ पर्सा एकबाट विजयी भई छोटो समय प्रधानमन्त्री हुनुभएको थियो ।