• १२ मंसिर २०८१, बुधबार

सुम्हात्लुङ म्याराथनको उपाधि नेपाल आर्मीका राईलाई

blog

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएका खेलाडी श्रीकास राईलाई पुरस्कार दिइँदै । तस्बिर : राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, पुस ८ गते । पाँचथरको फिदिममा आयोजना भएको छैटाैं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीमा कार्यरत धावक श्रीकास राईले चुम्नुभएको छ । उहाँले निर्धारित साढे नौ किलोमिटरको दूरी २७ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि चुम्न सफल हुनुभएको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलका निरज भट्ट र राजेन्द्र तामाङले दोस्रो र तेस्रो स्थान सुरक्षित गर्नुभयो । उहाँहरुमध्य दोस्रो स्थान प्राप्त गर्न सफल भट्टले २८ मिनेट ३ सेकेण्ड र तेस्रो हुनुभएका तामाङले २८ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो ।

यसैगरी, महिलातर्फको प्रतियोगितामा जुलिन राई पहिलो, भोजपुरकै जुहि राई दोस्रो र विनीता राई तेस्रो बन्न सफल हुनुभयो । सुम्हात्लुङ गडी मन्दिरबाट सुरु भएको दौड, पाँचथर बहुमुखी क्याम्पस, आहालगैरी, जोरसाल, पल्लोटार, शनिबारे र जिल्ला प्रहरी कार्यालय हुँदै सुम्हात्लुङ मन्दिरमै पुगेर टुङ्गिएको थियो ।

पुरुषतर्फको उपाधि विजेताले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नुभएको छ । यस्तै, महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५,३ र २ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

किरातहरुको सांस्कृतिक पर्व उँधौली अर्थात् चासोक तङनामका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । पुरस्कृत धावकहरुलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।