• ९ जेठ २०८१, बुधबार

‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने

blog

इस्लामावाद, पुस ८ गते । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गर्नुभएको हो । निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पीटीआईलाई चुनाव चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ ।

पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो ।

जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिन्ह पुनः प्राप्त गर्न पीटीआईको निवेदन मङ्गलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिनेछ ।

निर्वाचन आयोगको नाम नलिइकन पीटीआईका नेताले सबै षड्यन्त्र आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट बञ्चित गर्ने उद्देश्यले गरिएको बताउनुभयो । उहाँले निर्वाचन आयोगको पछिल्लो आदेशको पछाडि षडयन्त्र भएको पनि आरोप लगाउनुभएको छ ।

गोहरले भन्नुभयो, “अहिले राष्ट्रिय सभाका आरक्षित ७० सिट हामीसँग छन् । पाकिस्तानमा आरक्षित सिटको कुल सङ्ख्या २२७ छ । विधानसभाहरूमा उनीहरूको दलको शक्ति बराबर राष्ट्रिय पार्टीको मान्यताप्राप्त दलले सिटहरू प्राप्त गर्दछन् ।

जियो न्यूजका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र सिनेटका अध्यक्षका लागि हुने निर्वाचनमा आरक्षित सिटमा निर्वाचित सांसदको महत्त्वपूर्ण भूमिका हुन्छ ।

“पाकिस्तानको निर्वाचन आयोगको आदेश विरोधाभासपूर्ण रहेको र दिगोखालको नभएको देखिन्छ,” पत्रकारको प्रश्नमा गोहरले बताउनुभयो । उहाँले अदालतको उक्त आदेशलाई चुनौती दिँदै अदालत गएपछि पीटीआईले अपेक्षित राहत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

पेशाले वकिल समेत रहेका गोहरले भन्नुभयो, “पीटीआईको चुनाव चिन्ह पुनः स्थापित गरिनेछ । पीटीआई नेताहरू आफ्नो पार्टीले निर्वाचन आयोगको प्रमाणित प्रतिलिपिको पर्खाइमा रहेको बताउनुभयो ।

गोहरले पीटीआईले संविधानको धारा १८४ अन्तर्गत ईसीपीको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिन सक्ने बताउनुभयो । “इमरान खान पीटीआईका अध्यक्ष थिए, छन् र हुनेछन्”, उहाँले भन्नुभयो । उहाँले खानले सुम्पेको जिम्मेवारी मात्र पूरा गरिरहेको बताउनुभयो ।

गोहरले पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खान जेलबाट बाहिर नआएसम्म आफ्नो वर्तमान भूमिकामा पार्टीको जिम्मेवारी निर्वाह गरिरहने बताउनुभएको छ । गोहरले अन्यायपूर्ण निर्वाचनले देशमा अराजकता र अन्याेल निम्त्याउने चेतावनी दिनुभयो । रासस/एएनआई