• १२ मंसिर २०८१, बुधबार

नवौं राष्ट्रपति रनिङ शिल्ड पुस २० देखि हुने

blog

प्रतियोगिताका बारेमा जानकारी दिनुहुँदै जिल्ला खेलुकद विकास समितिका अध्यक्ष दिनेश केसी । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस ८ गते । म्याग्दीको बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । पुस २० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक नगरपालिकासहित ६ स्थानीय तहका खेलाडीको सहभागिता रहनेछ । 

आइतबार बिहान जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको जानकारी दिएको छ । 

पालिकास्तरमा सञ्चालन भएका अन्तर माविस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा भाग लिने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो। 

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्ट विधाका विभिन्न खेलमा ६६ स्वर्ण, ६६ रजत र ६६ काँस्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद २० हजार सहित रनिङ शिल्ड, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिनेछ । त्यस्तै दोस्रो र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार, पदक, प्रमाणपत्र र ट्रफी वितरण गरिने अध्यक्ष केसीले बताउनुभयो । 

प्रतियोगिता सञ्चालनलाई विभिन्न उपसमिति गठन गरी तयारी थालिएको उहाँले बताउनुभयो । प्रदेश खेलकुद परिषदबाट रनिङ शिल्ड आइसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाले तोके बमोजिमका सबै खेलकुद प्रतियोगितामा समावेश गरिने उहाँले बताउनुभयो ।