• २७ वैशाख २०८२, शनिबार

गणतन्त्रको विकल्प सुधारसहितको गणतन्त्र हो : उपमहासचिव पुन

blog

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका २ मा भएको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ।

काठमाडौं, पुस ८ गते । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिनामसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताउनुभएको छ । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरुको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उपमहासचिव पुनले दाबी गर्नुभयो ।

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका २ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । तीन जना राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’’


गणतन्त्र प्राप्तिपछि देशमा सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उहाँले बताउनुभयो  ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्नुहुँदै उहाँले अरु सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताउनुभयो ।

‘‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्डविरुद्धको अभियान चलाएको छ । अरुले सुन पास गराइरहेका थिए । माओवादीको सरकारले समात्यो त के नराम्रो भयो ?’’ उहाँले प्रश्न गर्नुभयो ।

‘‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ । नौ वटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।

सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरुमाथि प्रश्न उठ्यो । जनताले प्रश्न उठाउँदैमा भाग्नुहुँदैन । हामीले जवाफ दिनुपर्दछ । हामीले छानबिन समिति बनाऔं भनेका थियौं ।,’’ पूर्वमन्त्री पुनले थप्नुभयो, ‘‘हाम्रो पार्टी भ्रष्टाचार, कालाबजारीलाई संरक्षण गर्दैन । तर पनि आरोप लगाउनेविरुद्ध भने हामी जुध्नुपर्दछ । सम्बन्धित निकायमा मुद्दा हाल्नुपर्दछ । कसैले गल्ती गरेको छ भने उसको बचाउमा सङ्गठन लाग्दैन । गल्ती गर्ने कसैलाई छोड्नुहुँदैन ।’’


गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादीविरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति भने सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

‘‘पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहकार फेर्छु तर पछि हट्दिनँ, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ । परिणाम निकाल्छु भन्नुभएको छ । पार्टीले उहाँलाई साथ दिएको छ’’ सम्मेलनका सहभागीलाई प्रशिक्षण दिँदै पुनले थप्नुभयो ।

चन्द्रागिरी २ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो । माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रममा सहभागी भएका थिए । सम्मेलन र प्रशिक्षणमा उपमहासचिव पुन पुग्नुभएको हो । 

नेता पुनले जनयुद्धकालको अन्तिम क्षणमा आफू मध्य कमाण्डको इन्चार्ज भएर आएको स्मरण गर्नुभयो । जनआन्दोलन सफल बनाउन ७ दलीय सहमति अनुसार काठमाडौं वरपरका साँखु, दधिकोट र थानकोटमा आक्रमण गरेको खुलासा गरेका नेता पुनले जनआन्दोलनमा माओवादीले काभ्रे जिल्लाबाट मात्रै ९१ हजार ६ सय जना पठाएको बताउनुभयो ।