• १२ मंसिर २०८१, बुधबार

बारेकोटमा बालबिवाह बढ्दो

blog

स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यचौकीमा आएका आमाहरु । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, पुस ८ गते ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो क्रममा छ । बारेकोट गाउँपालिकाभरि बालविवाह हुने गरेको पाइएको छ । कोही भागेर कोही अभिभावककै सहमतिमा बालविवाह हुने गरेको हो । यहाँ बालविवाह रोकथामका लागि सचेतनाका कार्यक्रम नभएका कारणले पनि बालविवाह  बढेको देखिन्छ ।

प्रायः किशोरी आमा बनेका छन् भने केही किशोरी आमा बन्ने तरखरमा छन् । बारेकोट–१ रामीडाँडा स्वास्थ्यचौकीमा सेवा लिन आएका ७६ जना सुनौला हजार दिनका आमामध्ये ३५ जना किशोरी उमेरका महिला कसैले काखमा बच्चा च्यापेका थिए भने कोही गर्भवती थिए । बारेकोट १ रामीडाँडाकी राधिका रोकाया वर्षले १७ पुग्नुभयो । रोकायाको काखमा एक वर्षको बच्चा छ । अभिभावककै सहमतिमा आफूले १५ वर्षको उमेरमा विवाह गरेको सुनाउनुभयो ।

राधिका जस्तै १९ वर्षकी स्नेहा रोकाया गर्भवती हुनुहुन्छ । पेटमा आठ महिनाको बच्चा हुर्किरहेको बताउनुभयो । रोकायाले पनि आफू अभिभावककै सहमतिमा विवाह गरेको बताउनुभयो । स्नेहाले के भनौं जे भयो ठिकै छ भन्दै पेटको बच्चाको राम्रोका लागि आफू स्वास्थ्य संस्थामा पटक पटक आउने गरेको बताउनुभयो । छ महिना गर्भ बसेका र बच्चा जन्माएका महिलाहरु पोषणयुक्त पिठाे लिन आएका थिए । त्यहाँ रहेका महिलाहरु अधिकांश किशाेरी उमेरकै थिए ।

कसैका चार बच्चा भएका वर्षले २६ सम्मका थिए भने कोही १६ वर्षदेखि माथि र २० वर्षमुनिका महिला गर्भवती र बच्चा जन्माएका थिए । बालविवाह गर्नुहुँदैन भनेर खासै चेतनाका कार्यक्रम नभएकाले पनि यस्तो भएको यहाँका नागरिकको भनाइ छ ।

दुई बच्चाकी आमा हिमाली नेपाली उमेरले २१ वर्ष पुग्नुभयो ।उहाँले बालविवाह गर्नुहुँदैन भनेर गाउँमा चेतना नभएकै कारणले सानै उमेरमा विवाह हुने गरेको बताउनुहुन्छ । आफू २१ वर्षको भएँ । तर दुई बच्चा छन् । चेतना हुन्थ्यो भने विवाह गर्ने उमेर अहिले होइन भनेर भनिन्थ्यो होला ।

चेतना अभिवृद्धि गर्ने निकायको अभावले पनि बारेकोट गाउँपालिका भरी बालविवाह हुने गरेको अभिभावकको भनाइ छ । बारेकोट ५ का दानबहादुर सिंहले यहाँ सानै उमेरमा विवाह गर्ने पुरानै चलन कायम रहेको बताउनुभयो । ७६ वर्षीय सिंहले कानुनी रुपमा यति वर्ष उमेर पुगेकाले विवाह गर्ने हो भनेर जानकारी दिने निकायको अभाव भएको सुनाउनुभयो । वडा नं ५का निवर्तमान अध्यक्ष अजवीर सिंहले सरकारसँग जनशक्ति छैन, गैरसरकारी संस्थाको त्यस्तो कार्यक्रम नभएकै कारणले बालविवाह रोक्ने अभियान चलाउन नसकेको सुनुउनुभयो ।

आफू दुई कार्यकाल गाउँ विकास समितिको अध्यक्ष र एक कार्यकाल सङ्घीयतापछि वडाध्यक्ष हुनुभएका ८१ वर्षीय अजवीर सिंहले बालविवाहका धेरै असर समाजमा देखापरे पनि समुदाय सचेत नभएको सुनाउनुहुन्छ ।

कतिपय किशोरीको सुत्केरी हुन नसकेर अकालमै ज्यान जाने गरेको छ । तर समुदाय यसमा सचेत हुन सकिरहेको छैन सिंहले चिन्ता व्यक्त गर्नुभयो । कर्णालीका विभिन्न जिल्लामा बालविवाहविरुद्धको अभियान चलाइरहेको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) जाजरकोटमा प्रवेश गरेको छ ।

भूकम्प प्रभावितको सहयोगका लागि बारेकोट कार्यक्षेत्र बनाएको किर्डाकले अब बालविवाहविरुद्धको अभियान पनि थाल्ने बताएको छ । किर्डाक नेपालका कार्यक्रम संयोजक गोविन्द कठायतले भूकम्प प्रभावितका लागि अस्थयी टहरासँगै बालविवाह, महिला हिंसा, गुणस्तरीय शिक्षालगायतका आफ्नो संस्थाका नियमित काम पनि जारी राख्ने बताउनुभयो । टहरा निर्माणका लागि हाम्रा कर्मचारी जानुहुन्छ, त्यहाँ सबै कुरा हुन्छन् । विशेषगरी यहाँ बालविवाहको दर उच्च रहेकाले यसका असरका बारेमा सचेतना गरिने कठायतको भनाइ छ ।

बारेकोट गाउँपालिकाले पनि पछिल्लो समय बालविवाह न्यूनीकरणका लागि अनौपचारिक सल्लाह दिने गरेको बताइएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बालविवाह, महिला हिंसा, जस्ता सामाजिक अपराधका घटना हुन नदिन सबै कर्मचारी र कार्यापालिका सदस्यलाई निर्देशन गरेको बताउनुभयो ।