• १२ मंसिर २०८१, बुधबार

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि

blog

अर्जुन काफ्ले 

स्याङ्जा, पुस ७ गते । चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका-९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नुभएको हो । 

तामाङले उपाधि सहित ५० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नु भएको हो । दौडमा गोरखाका सञ्जय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेकेन्डमा पार गर्दै दोस्रो बन्दै ४० हजार हात पार्नुभयो ।यस्तै हुम्लाका सुशील कुमार जोशीले एक घण्टा ३४ मिनेट ०२ सेकेन्डमा पार गर्दै तृतीय स्थान हात पार गर्नु भएको थियो भने ३० हजार नगद प्राप्त गर्नुभयो । 

यस्तै २१ वर्ष मुनिको १० किमीमा प्रथम सिनम गुरुङ(तनहुँ)ले ४१ मिनेट १४ सेकेन्डमा दुरी पार गर्नु भएको हो । गुरुङले २० हजार रुपियाँसहित, कप, मेडल प्रमाणपत्र हात पार्नुभयो । दोस्रो तेन्जोन रोका (पोखरा)ले १५ हजार र तेस्रो मनोज रोका (पोखरा)ले १० हजार रुपियाँ हात पार्नुभयो । 

यस्तै महिलातर्फ पाँच किमीमा राम माया बुढा (जुम्ला) ले २१ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै  पहिलो स्थान हात पार्नुभयो । द्धितीय सुस्मिता कुमारी चौधरी(दाङ) र तृतीय नितु तामाङ (पोखरा) बन्नुभयो । बुढाले १५ हजार, चौधरीले १० हजार र तामाङले पाँच हजार प्राप्त गर्नुभयो । ५८ वर्षीय गोपाल नेपालीले दौडमा भाग लिँदै पुरा गर्नुभयो ।

विजेतालाई गण्डकी प्रदेशका खेलकुद मन्त्री सुशीला सिम्खडाले पुरस्कार वितरण गर्नु भएको थियो । दौडमा ३२ महिला सहित १३४ जना धावकको सहभागिता रहेको मनबहादुर थापाले जानकारी दिनुभयो । 

दौड कोल्माबाट सुरु भई काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी, हुँदै पुन कोल्मा आएर समापन भएको थियो ।