• २१ असार २०८१, शुक्रबार

जनताले परिवर्तन खोजेका छन् : सभापति लामिछाने

blog

पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने । तस्बिरः फडिन्द्र

फडिन्द्र अधिकारी

लेखनाथ, पुस ७ गते।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठुलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताउनुभएको छ।  पोखराको जिरो किलोमिटरमा पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटनपछि उहाँले यस्तो बताउनुभएको हो।  

पूर्व गृहमन्त्री एवम् सांसद लामिछानेले भन्नुभयो, “परिवर्तन गाई कि त्रिशूल गरी आएको होइन, तर फेरि पुरानै बाटोमा हामी जानु हुँदैन।  अब जनताले अवस्था परिवर्तन खोजेका छन्। ” सिसाकलमदेखि हवाईजहाजसम्म खरिदमा कमिसन खाने प्रणाली बसेको दाबी गर्दै उहाँले यसले देशलाई गलत बाटोमा लगेको टिप्पणी गर्नुभयो। 

उहाँले देशको अवस्था बुझेकालाई झकझक्याउन हिँडेको जनाउँदै रास्वपाले अवस्था परिवर्तन गर्ने उल्लेख गर्नुभयो।  “बेइमान नेतृत्व भए जुनसुकै व्यवस्थाले पनि समृद्धि आउँदैन।  प्रदेश संरचना कि सुधार्नुपर्छ कि हटाउनुपर्छ।  यसले रिजल्ट दिएन, नेता, कार्यकर्तालाई जागिरमात्र खुवायो,” उहाँले भन्नुभयो।  

अब आउने निर्वाचनपछि रास्वपाले एकल सरकार बनाउने दाबी गर्दै सभापति लामिछानेले अहिलेबाटै सरकार बनेपछि के गर्ने भन्ने गृहकार्य गरिरहेको सुनाउनुभयो।  “मत माग्न आउँदा सम्झौतापत्रमा हस्ताक्षर गराएर राख्नोस्, त्यो अनुसार काम नभए सजाय गर्नोस्,” उहाँले थप्नुभयो, “एकल सरकार बनेपछि कसरी कर्मचारी संयन्त्र चलाउने, कृषि क्षेत्र कसरी उकास्ने, कानुन कस्तो बनाउने भनी विज्ञको समूहले काम गरिरहेको छ।”

रास्वपा केन्द्रीय उपसभापति डिपी अर्यालले आफूहरू पार्टी निर्माण अभियानमा रहेको जनाउँदै रास्वपाले पार्टीले दूरदर्शी र प्रभावकारी मार्ग अख्तियार गर्ने बताउनुभयो।  उहाँले भन्नुभयो, “हामी यसरी काम गर्ने छौँ कि भविष्यमा हाम्रो पार्टीमा लागेकोमा पछुतो हुने कुनै दिन आउने छैन।”

कार्यक्रममा रास्वपा गण्डकी उपसभापति मिना शर्मा आचार्य, माओवादी केन्द्र गण्डकी कोषाध्यक्ष तारा भुसाल, पोखरा उद्योग वाणिज्य सङ्घ अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारी, रास्वपा गण्डकी महामन्त्री नवीन त्रिपाठी लगायतले बोल्नुभएको थियो।  

शनिबारै सभापति लामिछानेले पोखराको अमरसिंहचोक र माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा भएका सभालाई समेत सम्बोधन गर्नुभएको छ।