• १ जेठ २०८१, मङ्गलबार

रैथाने बाली जोगाउन बिउ बैङ्कको स्थापना

blog

बिउ बैंकको शुभारम्भ गर्दै युएनडिपी नेपालका डिआरआर, नगरप्रमुख लगायत ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस ७ गते । स्याङ्जामा रैथाने बाली जोगाउन बिउ बैङ्क (बिउ बिजन सङ्कलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । पछिल्लो समय परम्परागत बाली लोप हुँदै जान थालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका-८ मा बिउ बैङ्कको स्थापना गरिएको हो । 

वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास संस्था(युएनडिपी), दियालो संस्था लगायतको सहकार्यमा बिउ बैङ्कको स्थापना गरेको हो । 

बिउ बैङ्कको युएनडिपी नेपालका उपआवासीय प्रतिनिधि (डिआरआर) जुलियन्स सेभिलियर्ड, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै डिआरआर सेभिलियर्डले परम्परागत खेती प्रणालीको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परागत बीउको संरक्षण र खेती सँगै लैजानु पर्छ ।”

वालिङ नगरपालिकाले लिएको सुशासन, समावेशी आर्थिक विकास र हरित वातावरणमैत्री सहरको अभियान युएनडिपीको पनि प्राथमिकताको क्षेत्रहरू भएको भन्दै सेभिलियर्डले सहकार्यलाई अझै मजबुत बनाउने बताउनुभयो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाणले रैथानेबालीको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले रैथानेबालीको संरक्षण अभियानलाई दिगो बनाउन आवश्यक रहेको बताउनुभयो । सहकारीमार्फत गरिएको अभियानलाई दीर्घकालीन योजनाका साथ अगाडि बढ्नु पर्नेमा उहाँको जोड छ । 

वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे, निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँण लगायतले बिउ बैङ्कको प्रभावकारिता र आवश्यकताका बारेमा बोल्नुभएको थियो । सहकारीले स्याङ्जा जिल्लाबाट लोप हुँदै गइरहेको रैथाने बालीको ५६ किसिमका बिउहरू सङ्कलन गरिसकेको संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । अन्य बिउको पनि पहिचान र सङ्कलन गर्ने काम भइरहेको गुरुङको भनाइ छ ।

सहकारीले यो वर्ष पाखे जर्नेली, अनदी, कालो झिनुवा, रातो झिनुवा र स्थानीय जेठोबुढो गरी पाँच किसिमका धानलाई रोपणका लागि सहयोग गरेको थियो । जिल्लाका विभिन्न ठाउँका किसानलाई लोप हुन लागेका धानहरू रोप्नका लागि सहयोग गर्ने, बिउ उपलब्ध गराउने काम गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।