• १४ मंसिर २०८१, शुक्रबार

सरकारी मिडिया सरकारको मात्र होइन : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा । तस्बिर : निसा राई

निसा राई 

धरान, पुस ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया सरकारको मात्र नभई, आम नागरिकको भएको बताउनुभएको छ । सरकारका कुरा जनतासम्म र जनताको आवाज सरकारसमक्ष पुगाउने काम सरकारी सञ्चार माध्यमको भएको उहाँको भनाइ छ । 

पत्रकार महासङ्घ सुनसरी धरानको सभा हलमा आज सञ्चार क्षेत्रका समसामयिक विषयबारे पत्रकारबिच संवाद गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा सुशासन, सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने समेत उहाँले बताउनुभयो । नक्कली भुटानी शरणार्थीलाई अमेरिका लैजानेलाई, सुन तस्करलाई, ललिता प्रकरणजस्ता कार्यमा सरिक हुने सबैलाई सरकारले कारबाहीको दायरामा ल्याउन सफल भएको मन्त्री शर्माले बताउनुभयो । 

लोकतन्त्रमा साना र ठुलालाई समान कारबाही गरिने भएकाले सरकारले गल्ती गरे पनि कारबाहीको दायरामा ल्याउने गरिएको हो, जसमा अहिलेको सरकारले मुख्य भूमिका खेलेको उहाँले बताउनुभयो ।

गणतन्त्रमा कसैलाई गल्ती गर्ने छुट नरहेको उहाँले बताउनुभयो । सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्रसँगै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै नयाँ नीतिहरूको पनि व्यवस्था हुँदैगरेको बताउनुभयो ।

हाइवेमा पनि जङ्गलको एरियामा  नेटवर्क नटिप्ने भएकाले  ‘कनेक्टिभिटी’ लाई प्राथमिकतामा राखेको बताउनुभयो । मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञानपार्क स्थापना गर्न सकियो भने देशको जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सकिने भएकाले कानुन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।


दिनानुदिन आइटी र आइसिटीमा व्यापक रूपमा परिवर्तन भइरहेको छ । जस्लेगर्दा नेपालको कानुन भने पुरानो रहेकाले यसलाई परिवर्तन गर्न लागिपरेको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयकमार्फत न्युमिडिया नियमन गर्ने नीति लिने बनाउनुभयो ।

न्युमिडिया पनि अनलाइन मिडियाका रूपमा विकास हुँदै गइरहेकाले त्यसको नियमन, व्यवस्थापन गर्न जरुरी रहेको उहाँको भनाइ छ । कार्यक्रममा जिल्लाका पत्रकारले मन्त्री शर्मासमक्ष पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्ने मागसहित ज्ञापनपत्र समेत बुझाउनुभयो । वरिष्ठ पत्रकार हर्ष सुब्बालगायत जिल्ला पत्रकारले ज्ञापनपत्र बुझाउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसीलगायतको उपस्थिति रहेको थियो ।