• ११ मंसिर २०८१, मङ्गलबार

प्रजातन्त्रको जननी

blog

बेलायत युरोपको उत्तर–पश्चिम भागमा अवस्थित छ । यो चारैतर्फ एटलान्टिक माहासागरले घेरिएको चिसो टापु हो । यो ठुलो समुद्री चट्टानमा रहेकाले यहाँ प्रायः ठुलो भूकम्प आउँदैन । भूकम्प आइहाले पनि कमजोर संरचनाका घरमा समेत खासै क्षति हुँदैन । बेलायतमा सयभन्दा धेरै सहर छन् । यो देशमा ६७ करोड ३३ लाख मानिस बसोबास गर्छन् । इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डसमेत चार राज्य मिलेर संयुक्त अधिराज्य बनेको हो । बेलायतको राजधानी लन्डनमा मात्र आठ लाखभन्दा धेरै मानिसको बसोबास रहेको छ । विश्व प्रसिद्ध अङ्ग्रेजी कवि शेक्सपियरको जन्मभूमि हो यो । संसारकै उत्कृष्ट अक्सफोर्ड र क्यामरिज विश्वविद्यालय यहीँ रहेकाले उत्कृष्ट शिक्षाका लागि पनि यो संसारमै कहलिएको छ । 

विविध विशेषताका साथै बेलायत संसारमै प्रजातन्त्रको जननी हुनु यसको मुख्य विशेषता हो । साँच्चै भन्ने हो भने संसारमा सबैभन्दा पहिले प्रजातन्त्रको पाठ सिकाएको मुलुक नै बेलायत हो । भारतलगायत संसारभरिका देशहरूलाई प्रजातन्त्रको पाठ बेलायतले नै सिकाएको हो । यही भएर भारत अहिले संसारकै लोकतान्त्रिक मुलुकमा उच्च स्थानमा रहेको छ । बेलायतको प्रजातन्त्रको मूल विशेषता भनेकै स्थिरता हो । यहाँका हरेक मानिसको मूल मन्त्र नै प्रजातन्त्र रहेको छ । यहाँ व्यक्ति गौण रहन्छ, चाहे कार्यकारी अधिकार प्रयोग गर्ने प्रधानमन्त्री नै किन नहोस् । यही भएर गत कोभिडको समयमा त्यतिबेलाका प्रधानमन्त्री बोरिस जोनसनले एकै ठाउँमा धेरै मानिस भेला हुन नहुने नियम विपरीत आफ्नै निवासमा भोज गरे । यो कार्यको आफ्नै दलका सांसदले समेत विरोध गरेपछि जोनसनले पदबाटै राजीनामा दिनु परेको थियो । नेपालमा भने आफ्नो नेताले जतिसुकै गल्ती गरे पनि दासझैँ भएर कार्यकर्ताले समर्थन गर्ने चलन छ । बेलायतमा भने कानुनभन्दा माथि कोही हुँदैन र कानुन विपरीतको कुनै गल्तीमा कसैलाई छुट हुँदैन । यहाँ यति कडा अनुशासन छ कि कसैले कानुन उल्लङ्घन गर्ने कल्पनासम्म गर्न सक्दैन । यही भएकाले यहाँ धेरै काम हुन्छ र विकास पनि धेरै भएको छ । यहाँ सम्पूर्ण शासन प्रणाली स्वचालित रूपमा प्रविधिको माध्यमले हुने गर्छ । यहाँका मानिस धेरै मेहनती हुन्छन् । यहाँ आफ्ना काम सबै आफैँ गर्छन् । यही भएर यहाँबाट संसारका मानिसले धेरै सिकेका छन् र अझ धेरै सिक्न सक्छन् । यहाँ बसोबास गरेका नेपालीहरू माझ एउटा भनाइ नै रहेको छ, त्यो के हो भने नेपालमा अल्छी भएको छोरा बेलायत आएपछि स्वतः जाँगरिलो हुन्छ । पैसा कमाउन बिदाको समयमा पनि काम गर्छन् । यसरी यहाँको जीवनको मूल उद्देश्य नै पैसा कमाउनु रहेको छ । त्यसैले यहाँको जीवन मेसिन जस्तै हुने गर्छ, जसले गर्दा यहाँको वातावरण नै फुर्तिलो र आत्मनिर्भर हुने प्रकृतिको छ । 

यहाँको अर्को अनौठो विशेषता के छ भने यहाँ अहिले पनि लोकप्रिय रूपमा राजा रहेका छन् । यहाँका राजाले कुनै गल्ती गर्दैनन् भन्ने सिद्धान्त बनिसकेको छ । यो भनेको यहाँका राजाले कुनै काम नै गर्दैनन्, त्यसैले उनले कुनै गल्ती गर्ने कुरो पनि भएन । यसरी यहाँका राजा मानार्थ मात्र हुन्छन् तर यहाँका राजा यति धेरै लोकप्रिय छन् कि राजाले गरेको कामको सबैले अनुसरण गर्ने यहाँ परम्परा नै बनेको छ । यहाँका परम्परामै धेरै शासन चलेको हुन्छ । यसरी शासन प्रधानमन्त्रीले गर्ने र राजा मानार्थ रहने यहाँको परम्परा बनिसकेको छ । यही भएर यहाँको प्रजातन्त्र सदियौँ पुरानो र स्थायी रहेको छ । सबै अधिकार प्रधानमन्त्रीमार्फत मन्त्रीपरिषद्ले नै गर्छ । यसो भएकाले बेलायतको संसद्ले लोग्ने मानिसलाई आइमाई र आइमाईलाई लोग्ने मानिस बनाउनेबाहेक सबै काम गर्न सक्छ भन्ने भनाइ छ । यहाँको संसद्को बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने र उसैले शासनसत्ता सञ्चालन गर्ने भएकाले राम्रो नराम्रोको जस, अपजस प्रधानमन्त्रीकै हुन्छ । यसरी शासनसत्ताको सबै जिम्मेवारी प्रधानमन्त्रीकै हातमा हुने गर्छ, जुन विश्वकै लागि नमुना बनेको छ । बेलायतको संसदीय शासन पद्धतिलाई विश्वका धेरै देशले अनुसरण पनि गरेका छन् । 

बेलायतको प्रजातान्त्रिक शासन प्रणालीका साथै बेलायतबाट हामीले अरू धेरै कुरा सिक्न सक्छौँ । यहाँबाट सिक्नै पर्ने कुरामध्ये मुख्य भनेको अनुशासन र आत्मनिर्भरता नै हो । यसैले गर्दा बेलायत उन्नतिको शिखरमा पुगेको छ । संसारमा नाम कमाएको छ । संसारमै कहलिएको छ, जसलाई कसैले बेवास्ता गर्न सक्दैैनन् । बेलायतको अनुशासन यति अनुकरणीय छ कि बसमा चढ्नासाथ सबै यात्रुले ड्राइभरलाई नमस्कार गर्ने गर्छन् । यहाँ श्रमको अति नै सम्मान गरिन्छ । जति धेरै कडा काम त्यति धेरै पारिश्रमिक दिइन्छ । यो नै श्रमको सम्मान हो । बेलायतमा नेपालमा जस्तो ड्राइभर भनेर मुख खुम्च्याइँदैन । बरु सम्मान गरेर सलाम गरिन्छ । अनि बाटो हिँड्दा पैदल वा गाडीचालकले बायाँ साइड दिन्छ । दायाँ हात उठाएर अभिवादन गरेर सम्मान दिन्छन् वा मुखले ‘गुडमर्निङ’ र ‘थ्याङ्कयु’ भन्छन् । यो शिष्टता हामीले पनि सिक्नैपर्ने हो किनभने अहिलेसम्म न हामी ड्राइभरलाई सम्मान गर्छौं न त बाटो छोड्नेलाई धन्यवाद नै भन्छौँ । बरु उल्टै ठुलो पल्टेर हेप्दै र पेल्दै हिँडेका हुन्छौँ । यही भएर नेपालमा दुर्घटनाको सङ्ख्या धेरै हुने गरेको छ । यो सभ्य र शिक्षित व्यक्तिको विपरीत व्यवहार हो । हामी सभ्य हुन बेलायतबाट सिक्नै पर्छ । 

अर्को महत्वपूर्ण कुरा के हो भने यहाँका हरेक मानिस आत्मनिर्भर हुन्छन् । घर वा कार्यालयको आवश्यक पर्ने काम आफैँ गर्छन् । चाहे डाक्टर, इन्जिनियर र ठुलो हाकिम किन नहोस् । यतिसम्मकी मन्त्री र प्रधानमन्त्रीले पनि आफ्नो काम आफैँ गरिरहेका हुन्छन् । जीवन धान्नका लागि हरेकले केही न केही व्यवसाय गरेकै हुन्छ । यही भएकाले यहाँ कसैले भ्रष्टाचार गर्दैनन् । दुर्भाग्यवश कसैले भ्रष्टाचार गरेमा ऊ कारबाहीको भागी हुन्छ र उसले आफूले गरेको गल्तीको सजाय भाग्नै पर्छ । यसमा कुनै छुट हुँदैन, दिइँदैन । चाहे ऊ मन्त्री वा जुनसुकै ठुलो पदाधिकारी नै किन नहोस् । यही भएकाले बेलायतमा कानुनभन्दा माथि कोही हुँदैन भन्ने सर्वमान्ने सिद्धान्त नै प्रचलनमा रहेको छ । यही भएकाले बेलायतको प्रजातन्त्रलाई संसारकै सबैभन्दा बलियो र अनुकरणीय भनिन्छ । 

यस्तै, १८ वर्षभन्दा कम उमेरका बच्चालाई राज्यले नै संरक्षण गरेको हुन्छ । यो उमेरसम्म अभिभावकले आफ्ना छोरा, छोरीलाई रेखदेख र पालनपोषण गर्नै पर्छ । यसो नगरे बच्चाकै उजुरीमा जेलसमेतको सजाय भाग्नु पर्ने हुन्छ । १८ वर्षको उमेर भएपछि उसले आत्मनिर्भर भएर आफैँले काम गरेर खानु पर्छ । यो अवस्थामा बाबुआमाको घरमा बसेमा घरको भाडासमेत दिनुपर्ने अनौठो चलन छ किनभने यहाँ पैतृक सम्पत्तिमा बाबुआमाले नै आफूखुसी गर्न सक्छन् । छोराछोरीलाई अंश दिनुपर्ने बाध्यता हुँदैन । यहाँ ‘विल सिस्टम’को कानुनी व्यवस्था प्रचलनमा रहेको छ । यही भएकाले १८ वर्षसम्म बालकले सरकार र अभिभावकको सहयोगमा शिक्षित र योग्य भएर १८ वर्षपछि आफैँले आत्मनिर्भर भएर काम गरेरै खान बाध्य हुनै पर्छ । अन्यथा अचानक जीवनमा ठुलो सङ्कट वा समस्या आउन सक्छ । यसरी बेलायत र नेपालको कानुन र जीवन पद्धतिमा आकाश जमिनको फरक रहेको छ । यो पद्धतिले गर्दा बेलायतका मानिस सफल र व्यवसायी बनेका छन् भने नेपालका अल्छी र बाबुआमा निर्भर छन् । यसरी कोही त बाबुआमाका लागि अभिशापसमेत बनेका छन् । हाम्रो समाजलाई पनि शिक्षित र सक्षम बनाउन बेलायतकै प्रणाली अपनाउनसके हाम्रो समाज पनि शिक्षित, सक्षम र आत्मनिर्भरको बाटोमा अघि बढ्न सक्छ ।

निष्कर्षमा बेलायत नेपालका लागि मात्र नभई संसारकै लागि अनुकरणीय बनेकै छ । यही भएर बेलायतमा अमेरिकालगायत संसारभरका लाखौँ मानिसले भ्रमण गरेर यहाँको संसदीय राजनीतिक प्रणाली र पर्यटकीय स्थल, धर्म, संस्कृति र परम्पराको अवलोकन गरेर जानकारी र आनन्द लिने गर्छन । यही क्रममा यो पङ्क्तिकारले पनि बेलायतका इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, वेल्सका ५० भन्दा धेरै सहरको भ्रमण गरेको अनुभवका आधारमा प्रकृति र स्रोत साधनका साथै सहज जीवन जिउने दृष्टिले बेलायतभन्दा नेपाल नै धनी र राम्रो हो भन्ने लाग्छ तर जीवनलाई सव्रिmय र आत्मनिर्भर बनाउन तथा भ्रष्टारमुक्त शासन प्रणालीका सन्दर्भमा बेलायतबाट नेपाल र नेपालीले धेरै कुरा सिक्न जरुरी छ ।   

Author

बेनीबहादुर कार्की