• १३ मंसिर २०८१, बिहिबार

आधुनिक बसपार्कको डीपीआर तयार

blog

धनगढी –३ मा प्रस्तावित आधुनिक बसपार्कको डीपीआर ।

अविनाश चौधरी

धनगढी, पुस ६ गते । कैलालीको धनगढीमा बन्ने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।   

धनगढी उपमहानगरपालिका –३ कालिकानगरमा प्रस्तावित बसपार्कको डीपीआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभयो । प्रस्ताव गरिएको बसपार्क नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा निर्माण गरिने जनाइएको छ । 

कालिका नगरमा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९ हेक्टर क्षेत्रफलमा बसपार्क बनाउने प्रस्ताव गरिएको वडा ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । प्रस्ताव गरिएको क्षेत्र नदीले छोडेको बगर हो । 

आधुनिक बसपार्क निर्माणका लागि ११६ करोड लागत अनुमान गरिएको छ । तर खर्च घटाउन डीपीआर करेक्सन गर्नेबारे अझ छलफल भइरहेको वडा अध्यक्ष ऐरले जानकारी दिनुभयो । पुस १५ गतेसम्म करेक्सन गरेर डीपीआरलाई फाइनल गर्ने र जग्गा प्राप्तीका लागि फाइल अगाडि बढाउने उहाँले बताउनुभयो । प्रस्तावित बसपार्कको आइइइका लागि टोली खटेको जनाइएको छ ।