काठमाडौँ, पुस ६ गते । पुराना मुद्दालाई जतिसक्दो छिटो फछर्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछर्योटलाई तीव्रता दिएको छ । विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन् ।
कुल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फछर्योट भई ७० थान मात्र मुद्दा बाँकी रहेको अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । त्यस्तै १८ महिनादेखि दुई वर्षसम्मका मुद्दा २८ रहेका छन् । कुल ५५ थान मुद्दा रहेकामा २७ मुद्दा फछर्योट भएका छन् । एक वर्षदेखि १८ महिनासम्मका ५० थान मुद्दा फछर्योट गर्न बाकी रहेका छन् । कुल ७५ मुद्दा रहेकामा ५५ मुद्दा फछर्योट भएका छन् ।
साथै, छ महिनादेखि एक वर्षभित्रका ६८ मुद्दा फछर्योट भएका छन् । कुल ८१ मुद्दा रहेकामा १३ फछर्योट भएका छन् । त्यस्तै छ महिनाभित्रका कुल एक सय एक मुद्दा रहेकामा छ मुद्दा फछर्योट भएका छन् भने छ भने ९५ थान मुद्दा बाँकी छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अदालतले मुद्दा फछर्योटलाई तीव्रता दिएको र निर्दोषलाई दोषी ठहर नहोस् तथा दोषीले सजाय पाओस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले अदालतले छिट्टै अनलाइन सुनुवाइ गर्ने तयारी गरिरहेको र संविधान तथा कानुनअनुसार पाएको जिम्मेवारी पूरा गरिरहेको जानकारी दिनुभयो । उक्त अदालतबाट २०७९ बैशाख १ गतेदेखि नेपालभर अनलाइन तारिख लिन र कोभिडपश्चात अनलाइन बकपत्र गर्ने प्रक्रिया नियमितरूपमा सञ्चालन भइरहेको छ । विशेष अदालतमा गोलाप्रथा प्रक्रियाद्धारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०८० अन्तिम चरणमा रहेको जनाइएको छ । रासस