भावना जोशी
अत्तरीया, पुस ६ गते । खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताउनुभएको छ । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउँदले उक्त कुरा बताउनुभएको हो ।
खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण छ, खेलले खेलाडीलाई मात्र नभएर राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्नेे उहाँले बताउनुभयो । खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्ने बताउँदै उहाँले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति भिड्दैछन् । प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टिमको सहभागीता छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपियाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताउनुभयो ।
प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समितिसँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब छन् ।
यस्तै, समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब छन् ।