• ६ जेठ २०८१, आइतबार

मुक्त कमैया, हलिया पुनःस्थापना कार्यविधिका लागि सुझाव सङ्कलन

blog

सुझाव सङ्कलन कार्यक्रममा बोल्दै मन्त्री रामेश्वर चौधरी। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस ६ गते। सुदूरपश्चिम प्रदेश सरकारले तयार पार्न लागेको मुक्त कमैया, कमलरी, हलिया पुनःस्थापना कार्यविधिका लागि सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको छ।  

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज धनगढीमा कार्यक्रम गरेर सरोकारवालाबाट सुझाव लिएको हो।  कार्यक्रममा बोल्दै भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सम्बन्धितको समस्या बुझेर कार्यविधि बनाउनका लागि सुझाव सङ्कलन गरिरहेको बताउनुभयो। 

उहाँले पुनःस्थापना हुन बाँकी मुक्त कमैया, कमलहरी र हलियाको पुनःस्थापना चाँडै हुने बताउनु भएको छ।  “कार्यविधि चाँडै पास गरेर पुनःस्थापनाको काम अगाडि बढाउँछौं”, उहाँले भन्नुभयो।  

मन्त्रीले मुक्त हलियासंग एकचरण अझै छलफल हुने उल्लेख गर्नुहुँदै मुक्त कमैया र कमलरीसंग पर्याप्त प्रमाण रहेका कारण उनीहरुको प्रमाणीकरणमा समस्या नहुने बताउनुभयो।  उहाँले पुनःस्थापनाको लागि जग्गा दिने काम प्रदेश सरकारको नरहेको भन्दै जग्गा दिनका लागि संघीय सरकार र जग्गाको व्यवस्थापनका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने बताउनुभयो।  कार्यक्रममा मुक्त कमैया, कमलरी, हलियाको क्षेत्रमा पैरवी गर्ने संघसंस्था र सरोकारवाला व्यक्तिको उपस्थिति रहेको थियो।