• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय सेवा दलका ५ सय ३८ जना दीक्षित

blog

राष्ट्रिय सेवा दल जुनियर डिभिजनमा दीक्षित भएपछिकाे सामूहिक तस्बिर ।

मीना कँडेल

कावासोती, पुस ६ गते । पूर्वी नवलपरासीमा राष्ट्रिय सेवा दल जुनियर डिभिजन (४९ ब्याजका) पाँच सय ३८ जना क्याडेटहरु दीक्षित भएका छन् । काठमाडाैं, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ, गुल्मी, रुपन्देही, चितवन, बाँके, पाल्पा र स्याङजा गरि ११ जिल्लाका १५ विद्यालयका छात्र र छात्राहरुको सहभागिता थियो ।

कार्यक्रममा मध्यपृतना हेडक्वाटरका पृतनापति उपरथी प्रदीपजंग केसीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ । तालिममा सिकेका सिपहरुले भविष्यमा आउन सक्ने चुनौतीलाई सहज रुपमा सामना गर्न सहयोगी हुने विश्वास लिएको उपरथी कार्कीले बताउनुभयो । निःस्वार्थ सेवा भावबाट समर्पित भई देशभक्त नागरिक हुनुपर्नेमा जोड दिनुभयो ।

जुनियर क्यान्डेट अस्मिता सुनारले अनुशासन नै विद्यार्थीको गहना भएकाले तालिम लिइसकेपछि राष्ट्रप्रति इमानदारी र बफादारी बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले तालिम शिक्षालय वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त समारोहमा सहभागीमध्ये उत्कृष्ट छात्रा हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

त्यसैगरी, राष्ट्रिय सेवा दलमा आबद्ध भएपछि विद्यार्थीहरुमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि, अनुशासित र क्षमतावान हुने र विपद् व्यवस्थापन तथा उद्धारमा स्वयंसेवक जनशक्ति उत्पादन गरी राष्ट्रिय एकताको भावनाको विकासमा टेवा पुग्ने नारायणी माध्यामिक विद्यालय पर्वतका शिक्षक सञ्जय रेग्मीले बताउनुभयो । उहाँले विद्यार्थीहरुमा राष्ट्रिय सेवा दलका विषयमा धेरै कुराको जानकारी हुने बताउनुभयो ।

राष्ट्रिय सेवा दलको एक सयको दिनको तालिममध्ये ७९ दिन विद्यालय र २१ दिन नेपाली सेनाको क्याम्पमा नै लगेर सिकाइन्छ । जहाँ सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यत्तित्व विकास राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्ने गरिन्छ । 

नवलपुरको राष्ट्रिय सेवा दलमध्य तालिम शिक्षालय हात्तीखोरबाट वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षित भई विद्यालयमा तालिममा सिकेका सीप तथा कलाकौशलको प्रदर्शन गरेका थिए । तालिम शिक्षालय वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त समारोहमा सहभागीमध्ये उत्कृष्ट छात्रालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । राष्ट्रप्रति समर्पित, राज्य संस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निमार्ण गर्ने उद्देश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो । हालसम्म ६६ हजार ७ सय ७६ राष्ट्रिय सेवा दलका क्याडेटहरु दीक्षित भइसकेका छन् ।