अविनाश चौधरी
धनगढी, पुस ६ गते । लागुऔषध दुर्व्यसन बढेको कैलालीलाई हब बन्न नदिने गरी आफूले हरसम्भव प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रतिबद्धता जनाउनुभएको छ ।
कैलालीको जिम्मेवारी सम्हालेलगत्तै आज पत्रकारसँग भेटघाट गर्दै उहाँले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको हो । “मलाई थाहा छ, यो जिल्ला लागुऔषधको हब बन्दैछ । प्रयोगकर्ता र कारोबारी बढेका छन्” उहाँले भन्नुभयो, “लागुऔषधको हब बन्न नदिन मेरो हरसम्भव प्रयास रहनेछ ।”
प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनलाई कायम राख्न आफू यहाँ आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म यो जिल्ला सरुवा भएर आउँदैगर्दा मलाई धेरै जनाले बधाई दिनुभयो । के कारणले बधाई दिनुभयो मलाई थाहा छैन । तर, म यो जिल्लाको लागि काम गर्न आएको हु । यहाँको शान्ति, सुरक्षा, सुशासनलाई कायम राख्नुबाहेक मेरो अरु कुनै स्वार्थ हुनेछैन ।”
प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवालाई गुणस्तरीय बनाउनु आफ्नो दायित्व रहेको र त्यसको सुरुवात आफ्नै कार्यालयबाट गर्ने उल्लेख गर्नुभयो । यसैगरी १०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेकाले यहाँ भइरहेको अवैध चोरी, पैठारी नियन्त्रण गरेर राजस्व चुहावट रोक्ने कार्यमा पनि आफ्नो प्रमुख भूमिका रहने बताउनुभयो ।
जिल्लामा रहेको राजस्व चुहावट नियन्त्रणसम्बन्धी समिति र केन्द्रमा रहेको समितिले आफ्नै ढङ्गले काम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ । दुवै समितिबिच खाडल देखिएको भन्दै उहाँले आफूले यी समितिबीच समन्वयका लागि पुलको काम गर्ने बताउनुभयो ।
कैलालीमा क्रस बोर्डर सुरक्षा चुनौती रहेको प्रमुख जिल्ला अधिकारी मिश्रको ठहर छ । यसैगरी अहिले नेपाल–भारतको सीमा निर्धारण गर्ने पिल्लर मर्मतको काम भइरहेकाले पिल्लरलाई पनि प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । उहाँले सरकारी सेवा प्रवाहमा बिचौलियाको प्रयोग र रकम असुल्ने कार्यप्रति आफूले शून्य सहनशीलता अपनाउने दावी गर्नुभयो । “म राम्रो काम गर्न आएको हो । मेरो ध्यान काममा मात्रै हुनेछ” मिश्रले भन्नुभयो, “यो बाहेक अरु कुनै आकाङ्क्षा छैन ।”