• १३ असोज २०८१, आइतबार

जन्मदिनमा विद्यार्थीलाई मुना वितरण

blog

जन्मदिनमा मुना वितरण गरिएपछि हात हातमा मुना लिएका विद्यार्थी । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

नारायणगढ, पुस ६ गते । नवलपरासी बर्दघाट सुस्ता पूर्व गैँडाकोटका पुष्कर अधिकारीले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई मुना पत्रिका बाँडेर मनाउनुभएको छ । अधिकारीले गैँडाकोट नगर पालिकामा रहेको विजय आधारभूत विद्यालयका करिब एकसय जना विद्यार्थीलाई मुना बाँड्नु भएको हो । 

विद्यालयमा आयोजित कार्यक्रममा मुना मासिकका सम्पादक भक्तबहादुर थापाले बालबालिकाहरुलाई विद्यालय शिक्षाभन्दा बाहिरका  ज्ञानवर्धक सामग्री समेटिएको मुना प्रकाशन उपयोगी भएको बताउनुभयो । 

“बालबालिकाका हातमा मुनाजस्ता ज्ञानवर्धक पुस्तकहरु उपलब्ध भए उनीहरुको सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । उहाँले जन्मदिनमा मुना पत्रिका नै चयन गरेर विद्यार्थीका हातमा पुर्‍य ाउने काम गर्नुभएकोमा अधिकारीलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक सरस्वती पाण्डेले विद्यार्थीहरुका लागि मुना पत्रिका ज्ञानवर्धक रहेको बताउनुभयो । 

“मुना जस्ता पत्रिकाहरुले विद्यार्थीलाई अतिरिक्त ज्ञान दिन सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । 


कार्यक्रममा बोल्दै अधिकारीले विद्यार्थीहरुलाई पठन संस्कृतिको विकास गराउन जन्मदिनमा मुना पत्रिका छनाेट गरेको बताउनुभयो । 

अधिकारी स्थानीय किसान बचत तथा ऋण सहकारी सस्थाका सूचना अधिकारी हुनुहुन्छ । कार्यक्रममा सम्पूर्ण किताब पसल नारायणगढका सञ्चालक लेखराम सापकोटा र किसान बचत तथा ऋण  सहकारी संस्थाका व्यवस्थापक तेजेन्द्र रानाको सहभागिता थियो ।