• १५ मंसिर २०८१, शनिबार

वैदेशिक रेमिटान्स अनुत्पादक क्षेत्रमा खर्चियो

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस ६ गते । गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले वैदेशिक रोजगारीबाट भित्रिएको रेमिटान्स अनुत्पादक क्षेत्रमा खर्च भएको बताएका छन् । रेसुङ्गा नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारीका सवालमा स्थानीय तहका पदाधिकारी र सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । 

वैदेशिक रोजगारीबाट भित्रिएको रेमिटान्सलाई उत्पादनमूलक लगानी गर्नुपर्ने भन्दै सो कार्यक्रमका सहभागीहरुले अनुत्पादक क्षेत्रमा धेरै खर्चिने गरेको देखिएको बताएका छन् । त्यसअवसरमा सुरक्षित आप्रवासन (सामी) परियोजना लुम्बिनी प्रदेशका कार्यक्रम व्यवस्थापक पञ्चराम चौधरीले वैदेशिक रोजगारीमा जाने तथा रोजगारीपछि स्वदेश फर्किएकाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने पक्षहरुलाई जिल्ला प्रशासनमा रहेको सुरक्षित आप्रवासनको स्रोत केन्द्रबाट राहदानी बनाउँदा आउँनेहरुलाई जानकारी प्रदान गर्ने गरिएको बताउनुभयो । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विदेशमा जानैपर्ने भएमा त्यससम्बन्धी सम्पूर्ण जानकारी र सीप सिकेर मात्र जानुपर्ने बताउँदै वैदेशिक रोजगारीमा जाने श्रमशक्तिलाई सीपयुक्त बनाउन जरुरी रहेको बताउनुभयो । विदेशबाट आएको रेमिटान्सलाई सुरक्षित लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले स्वदेशमै सम्भावनाहरुको खोजी गरी विदेशमा गएकालाई आफ्नै देशमा फर्कने प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो । नेपालमा सम्भावनाहरुको खोजी गरी विदेशमा भएको जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको सो अन्तरक्रियाको सहजीकरण रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पीताम्बर पन्थीले गनुभयो । 

रेसुङ्गा नगरपालिकाले सुरक्षित आप्रवास (सामी) परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र सहायकता कक्ष सञ्चालन गरेको छ । सो स्रोत केन्द्रबाट जिल्लाका सबै स्थानीय तहका नागरिकहरुले सेवा लिएका छन् ।