• १५ मंसिर २०८१, शनिबार

युवा विदेश जाने बाध्यता अन्त्य गर्नुपर्छ : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । फाइल तस्बिर

अमरराज नहर्की
तनहुँ, पुस ६ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचार बढेर देश कङ्गाल भएकाले युवाहरु विदेशीन बाध्य भएको बताउनु भएको छ । तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्नुहुँदै लामिछानेले भ्रष्टाचारले देश आर्थिक सङ्कटमा परेकाले युवाहरुले स्वदेशमा अवसर नपाएको बताउनुभयो ।

रास्वपाको प्रमुख मुद्दा भ्रष्टाचार गर्ने र विकासलाई गतिशील बनाई युवाहरुलई स्वदेशमै रोजगारी दिने रहेको सभापति लामिछानेको भनाइ छ ।  २०८४ चुनावमा बहुमत ल्याएर भ्रष्टाचारको फाइल खोल्ने लामिछानेले दाबी गर्नुभयो ।

भ्रष्टाचार अन्त्यको अभियानमा लागेकाले आफूले मुद्दा र घेराबन्दीको व्यहोर्नु परेको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार फाइल खोल्ने गरेपनि आफ्नो मान्छेको नाम आएपछि बन्द गर्ने सभापति लामिछानेको आरोप रहेको थियो ।

सभापति लामिछानेले भन्नुभयो, ‘‘सरकारले फाइल त खोल्छ, तीन÷चार पाना पल्टाएपछि आफ्नै मान्छेको अनुहार आएपछि फाइल बन्द गर्छ ।’’ भ्रष्टाचारको जालो रास्वपाले तोडेरै छाड्ने लामिछानेको उद्घोष गर्नुभएको थियो ।

भ्रष्टाचारको अन्त्य गर्ने कदममा जनताले साथ दिएकाले हौसला मिलेको उहाँको भनाइ छ । महिला दिदीबहिनीको अधिकारका लागि लडिरहेको उहाँ बताउनुहुन्छ । महिलालाई र सुरक्षा र सम्मान गर्नुपर्छ भनेर आफ्नो निर्वाचन क्षेत्र चितवनमा महिलाका लागि सार्वजानिक यातायात सेवा दिन ब्लु बस सञ्चालन गरेको बताउनुभयो  । बस पर्याप्त नभएको पनि सुरुवात गरिएको र यसलाई विस्तारै देशैभरि विस्तार गरिने उहाँले बताउनुभयो ।

पुस ९ गतेदेखि दबाब यात्रा हुने
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडक छिट्टो निर्माणमा दबाब दिने उद्देश्यले दबाब यात्रा गर्ने भएको छ । बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिँडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासो सुन्ने रास्वपाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने, सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्ने यात्राको मुख्य लक्ष्य रहेको यात्रा संयोजक तथा रास्वपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो ।

पुस ९ गते गैंडाकोटको पुल्चोकबाट यात्रा सुरुवात हुने उहाँले बताउनुभयो । यात्राको नेतृत्व रास्वपा सभापति लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी हुनेछन् ।