• १३ मंसिर २०८१, बिहिबार

मुक्तिकोट दलित बस्ती अभावको भुमरीमा

blog

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलसहितको टोली स्वामिकार्तिक–१, मुक्तिकोट दलित बस्ती निरीक्षण गर्दै ।

शेरबहादुर सार्की

मुक्तिकोट (बाजुरा), पुस ६ गते । बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १ मा रहेको मुक्तिकोट दलित बस्तीमा गाँस, बास र कपासको चरम अभाव देखिएको छ । यहाँ पिउनलाई खानेपानीसमेत छैन । करिब ३८० घरपरिवार रहेको यो दलित बस्ती पहिरोको जोखिममा छ । गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण बस्तीको तल र माथिबाट पहिरो गएपछि यस्तो समस्या देखिएको हो । 

पहिरोका कारण जमिन भासिएर खानेपानीका मुहान सुकेका छन् भने बस्नलाई घर र अन्न बाली लगाउन जमिन पनि राम्रो छैन । खेतीयोग्य जमिन पहिरोमा परेपछि समस्या भएको स्थानीय बताउँछन् । 

घर चर्किएका छन्, बस्नयोग्य छैनन्, खेती लगाउन जग्गा छैन र पिउन पानी छैन चिन्तैचिन्तामा समय काट्न परेको मुक्तिकोटका स्थानीय ६० वर्षीय नरे लुहारले बताउनुभयो । बस्तीको तल र माथिबाट पहिरो बग्दै गरेको छ, सबैको बिचल्ली छ उहाँले भन्नुभयो । 

हिउँद लाग्यो, चिसो बढ्दै गएको छ, एक घण्टा टाढाबाट खोलाको पानी ल्याएर खानु परेको छ उहाँले थप्नुभयो, “खै त सरकार कहाँ छ होला ? हाम्रो समस्या कसले सुनिदेला ।” 

पहिरोले ३८० घरपरिवारलाई बिचल्लीमा पारेको वर्ष दिन हुन लाग्यो । स्थानीय सरकारले बस्ने बास त के खानेपानी र गाँसको समेत उचित व्यवस्था नगरिदिएको दुखेसो उहाँको छ । 

अर्का ज्येष्ठ नागरिक धनमल्या विकले पहिरोले मर्नु न बाँच्नुको अवस्थामा पु-याएको बताउनुभयो । यो जन्मथलो छाडेर कहाँ जाने केही विकल्प छैन, उहाँले भन्नुभयो, “यहाँको मेला, खोलीकोट, माझबाडा, भैँसीखाली, चुडगाउँ, खोलाह, नाउँला र गैरालगायतका ठाउँमा पहिरोले क्षति पु-याएको छ ।” 

आउँदो बर्खामा पूरै गाउँ पहिरोसँगै बग्ने चिन्ता उहाँलाई छ । त्यही भएर अहिले नै उचित व्यवस्था गरिदिन स्थानीयवासीको आग्रह छ । 

यो बस्तीलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने आवश्यक छ । जुन स्थानीय सरकारबाट सम्भव छैन । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मरबहादुर रोकायाले यहाँका स्थानीयलाई रघुमाता मावि नजिक रहेको जग्गामा बसाल्ने योजना रहेको बताउनुभयो । 

१० प्रतिशत स्थानीय सरकार, ३० प्रतिशत प्रदेश र ६० प्रतिशत सङ्घीय सरकारको आर्थिक सहयोगमा केही समयका लागि मुक्तिकोटका पहिरो पीडितलाई नजिकैको स्थानमा स्थानान्तरण गरी घरबास गर्ने तयारी भएको जानकारी उहाँले दिनुभयो । 

पहिरो प्रभावितलाई दुई पटक खाद्यान्न, लुगा कपडा, पाँचदेखि २० हजार रुपियाँ नगद आर्थिक सहयोग गरेको जानकारी पनि प्रशासकीय प्रमुख रोकायाले दिनुभयो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वको टोलीले पहिरो प्रभावित बस्तीको स्थलगत अवलोकन गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारी पौडेलले बस्ती स्थानान्तरणका लागि स्थानीयवासीसँग अन्तर्क्रिया तथा छलफल गरिएको बताउनुभयो । बस्ती स्थानान्तरण गर्ने गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने उहाँले बताउनुभयो ।