• २३ असार २०८२, सोमबार

पन्ध्र वर्षसम्म अल्झियो सिँचाइ योजना

blog

दोलखा समाचारदाता

दोलखा, पुस ६ गते । दोलखाको शैलुङ गाउँपालिका–८ मा करिब डेढ दशकअघि निर्माण सुरु भएको झोरखोला सिँचाइ योजनामा गत आर्थिक वर्षमा विनियोजन भएको बजेट स्थानीयबिच भएको वादविवादका कारण खर्च हुन नसक्दा सञ्चालन हुन सकेको छैन । 

गत आवमा विनियोजन भएको २५ लाख रुपियाँ विवादले समयमा काम हुन नसक्दा सात लाख रुपियाँ मात्र खर्च भई बाँकी १८ लाख रुपियाँ फिर्ता गएको उपभोक्ता समितिका अध्यक्ष विजय तामाङले गुनासो पोख्नुभयो । 

“अरू सबै काम सम्पन्न भई पाइप फिटिङ भइसकेको थियो । चुचे पहरोको पाइप अहिले श्राप साबित भएपछि पक्की पिल्लरको विधि अपनाउनु परेको छ,” उपभोक्ता समितिका अध्यक्ष तामाङले भन्नुभयो, “गाउँको रडाकोले उपभोक्ता समितिले निर्माण गर्ने काम गत असारमा मात्र हुन सक्यो । आएको बजेट पनि फिर्ता गयो । काम अधुरै छ ।” 

१८ फुट अग्ला नौ वटा पिल्लर निर्माण गरी पाइप पनि जडान गरिएको छ । अब नौ वटा पिल्लर निर्माण गरेपछि काम सम्पन्न हुन्छ । पानी पनि सञ्चालन हुन्छ । यी कामका लागि अब करिब ३२ लाख रुपियाँ लाग्छ । बजेट आएन । काम रोकियो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार यो योजना गत २०७३ सालमा पुनः सुरु भएको हो । एक वर्षमा सम्पन्न हुनुपर्नेमा तीन पटक म्याद थपियो । समय लम्बिँदै जाँदा योजनामा निर्माण भएको झोलुङ्गे पुल बिग्रनुका साथै ठाउँ ठाउँमा पाइप छुटेका छन् । भएका कामको मूल्याङ्कन गर्दै सम्झौता भएको एक करोड २३ लाख १८ हजार २५१ मध्ये एक करोड २० लाख २३२ रुपियाँ ठेकेदारले भुक्तानी पाइसकेको छ । ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ हुँदा असली किसान मारमा परेका छन् । सरकारी लगानी बालुवामा पानी हाले झैँ भएको छ । 

कार्यालय प्रमुख रूपेश महतले भन्नुभयो, “गत आवमा आएको बजेटले चुचे पहराको तलबाट पाइप लगेर आयोजना सञ्चालन गर्न लागिएकोमा उपभोक्ता समिति बन्न समय लाग्यो र भने जति काम हुन सकेन । यो वर्ष बजेट परेन । अर्को वर्ष बजेट परे योजना सम्पन्न हुन्छ । त्यसका लागि बजेट माग गर्न लागिएको छ ।” 

विसं २०६५ देखि निर्माण सुरु भएको योजना सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका स्थानीय एवं समाजसेवी मोहनसिं तामाङले दुःखेसो पोख्नुभयो । “साढे तीन हजार किसान लाभान्वित हुने यो योजना यति लामो समयमा पनि सम्पन्न हुन नसक्नु सारै दुःखको कुरा हो,” उहाँले भन्नुभयो, “के कारणले लम्बिएको हो ? किसानलाई थाहा छैन । सिँचाइ आएपछि खेतीपाती गरेर लाभान्वित हुन्छौँ भनेर पलाएको आशा मुर्झाएको छ । लोकतन्त्रमा पारदर्शिता हुनुपर्ने हो, स्थानीय सरकारले समेत यसमा खासै चासो लिएको देखिँदैन ।” 

केही उपभोक्ताले प्राविधिकलाई समेत बाध्य पारेर पाइप गाड्नै नसकिने पहरोबाट पाइप लगिँदा अहिले पानीको भार थेग्न नसकेर पाइप झोलिएर पानी जान नसक्ने भएपछि निर्माण सुरु भएको १५ वर्षपछि केही तलबाट पक्की पिल्लरबाट पानी लैजाने काम सुरु भएको छ  । 

सम्झौता अनुसार ठेकेदारको काम सकिएको छ । पुरानो उपभोक्ता समितिको पाइप लाइन खन्ने र पुर्ने काम पनि सकिएको छ । सानो प्राविधिक समस्याले सञ्चालनमा आउन नसक्दा योजना अल्झेर बसेको हो ।