काठमाडौं, पुस ४ गते । राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रूपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वयन हुनेगरी १६ औँ योजना तर्जुमाको तयारी गरेको बताएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले १६ औँ योजना तर्जुमा मुलुकको वर्तमान अवस्थालाई नयाँ गति दिनेगरी योजना छनोट र कार्यान्वयन लक्ष्य गरी तीन विषयलाई प्राथमिकतामा राखेर योजना बनाउन लागेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६ औँ योजनामा आयोगले मुलुकलाई नयाँ गति दिने, वर्तमान आवश्यक योजना छनोट र कार्यान्वयनको लक्ष्य गरी तीन कुरालाई प्राथमिकतामा राखेको योजना तर्जुमा गर्न लागिएको बताउनुभयो ।
आयोगका उपाध्यक्ष श्रेष्ठले १६ औँ योजनामार्फत मुलुकलाई नयाँ गति दिनु आवश्यक रहेकाले मुलुकको सम्भावना र आवश्यकताका आधारमा आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा नयाँ गति दिने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्र र योजना आयोगले लिएको कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्यमा फरक रहेको बताउनुभयो ।
उहाँले निजी क्षेत्रले सरकारले आफ्ना मागहरू पूरा गरिदियो भने सय खर्ब पुग्ने लक्ष्य महत्त्वाकाङ्क्षा लिएको तर योजना आयोगले व्यावहारिकतालाई हेरेर लक्ष्य हासिल गर्नेगरी ८० खर्बको प्रारम्भिक लक्ष्य राखेको दाबी गर्नुभयो । उहाँले १६ औँ योजनामा मुख्य के-के गर्ने भन्ने तर्जुमा गर्न बाँकी रहेको बताउनुभयो ।
आयोगका उपाध्यक्ष श्रेष्ठले पाँच वर्षमा जलविद्युतमा हुने लगानीबाट उत्पादन हुने विद्युत, कृषि, भौतिक पूर्वाधारमा भएका लगानीले अर्थतन्त्र ल्याउने वृद्धिलाई आङ्कलन गरेर ८० खर्बको प्रारम्भिक लक्ष्य दिएको बताउनुभयो । उहाँले १६ औँ योजना १४ र १५ औँ योजनासँग तुलना योग्य नभएको बताउनुभयो । उहाँले १४ औँ योजना त्रिवर्षीय योजना भएकाले १४ औँ योजनाले राखेको लक्ष्य पूरा गरेको बताउनुभयो । जुन ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल भएको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरूमा पत्राचार गरेको बताउनुभयो । उहाँले गत मङ्सिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न भनी सकिएको बताउनुभयो । उहाँले राष्ट्रिय आयोजना बैङ्कमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको लजिकसहित कार्यक्रम प्रस्ताव गर्ने, मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने गरी व्यवस्था मिलाउन पनि पत्राचार भएको बताउनुभयो । उहाँले राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्नेसम्मका कार्यतालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको पनि बताउनुभयो । १६ औँ योजनामा माघमा सकाउने योजना आयोगको योजना रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
उहाँले प्रदेश र स्थानीय तहले आफ्नो तरिकाले बजेट बनाउने तर सङ्घीय बजेट धेरै चरणमा छलफल हुने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहले पठाएका योजनामा अन्तिममा सम्बन्धित मन्त्रालयसँग बसेर छलफल गरेर टुङ्ग्याउने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्ने सम्मका कार्यतालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको जनाएको छ । आयोगले बजेट क्यालेन्डर परिमार्जनसम्बन्धी उक्त कार्यविधि मन्त्रिपरिषद्मा पुगेको पत्रकार सम्मेलनमा बताएको हो ।