• १२ मंसिर २०८१, बुधबार

शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

blog

हृदय रोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालालगायतका विज्ञ टोलीले शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनका लागि अवलोकन गर्नुहुँदै । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
विराटनगर, पुस ५ गते ।
कोशी प्रदेश सरकारले विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको प्रदेश सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो ।

न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिलविक्रम कार्की, मुटुरोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइराला, काउन्सिलका सह–कोषाध्यक्ष डा. विक्रान्त ढकाललगायतका टोलीले उक्त हृदयरोग केन्द्र सञ्चालनका लागि अध्ययन थालेका छ । टोलीले कुन मोडेलमा, कसरी, कति क्षमतामा र के–के सेवाबाट हृदय केन्द्र सञ्चालन गर्नेबारे अध्ययन थालेको बताइएको छ ।

कोरोना महामारीकालमा प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको उक्त अस्पतालको भवन, उपकरण, जनशक्ति, ऐन, नियम, निर्देशिकालगायतको बारेमा अध्ययन सुरु गरेको हृदयरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले जानकारी दिनुभयो ।

उक्त सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र ८१ वटा सामान्य शय्या, इसिजी, एक्स–रे सेवा, एक सय ५० सिलिण्डरको दुई वटा अक्सिजन प्लाण्ट, वेष्ट म्यानेजमेण्ट छ । उक्त केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा छ ।

डा. कोइरालाले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदयरोग केन्द्र मात्रै नै नभई अन्य धेरै सेवा सञ्चालन गर्ने अवस्था रहेको र यसबाट के–के सेवा सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन प्रारम्भ गरिएको बताउनुभयो ।

सघन उपचार केन्द्रमा रहेको आईसीयू, एचडियूलगायतका उपकरणहरु कोरोना महामारीपछि प्रयोगविहीन रहेकाले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले उक्त उपकरणहरुको उपयोग गरेर हृदयरोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको बताउनुभयो ।

विशेषज्ञ टोलीले दिएको सल्लाह, सुझावका आधारमा सम्पूर्ण तयारी गरेर हृदयरोग केन्द्र सञ्चालन गरेर यस प्रदेशका मुटुरोगीहरुलाई सेवा प्रवाह गर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ ।