• १४ मंसिर २०८१, शुक्रबार

आइसिपी एक महिनाभित्र सञ्चालन हुँदै

blog

काठमाडौँ, पुस ५ गते  । नेपालगन्जमा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा ल्याउने विषयमा आवश्यक गृहकार्य सुरु भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ४४.३६ हेक्टर क्षेत्रफलमा निर्माणको अन्तिम चरणमा रहेको सो जाँच चौकी सञ्चालनमा ल्याउने विषयमा सोमबार मात्रै नेपाल र भारतका अधिकारीले संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।

भारतको परराष्ट्र मन्त्रालयका सहसचिव, ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया, आइसिपी रुपैडिया, रुपैडिया कस्टम, एसएसबी इन्डियालगायतका निकायका अधिकारी र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रको संयुक्त टोलीले नेपालगन्ज एकीकृत जाँच चौकीको स्थलगत अनुगमन गरेका थिए ।

अवलोकनका क्रममा भारतको परराष्ट्र मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले उक्त जाँच चौकीको निर्माण कार्य एक महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जाँच चौकीमा पानी ट्याङ्की, सिसिटिभी जडान, नेटवर्किङ, फायरफाइटिङ सिस्टमलगायतका कार्य बाँकी रहेकाले एक महिनामा सम्पन्न गर्न निर्देशन दिइएको हो । जाँच चौकी सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइसिपी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोधसमेत गरिसकेको जानकारी दिनुभयो । जाँच चौकी निर्माण गर्न नेपाल सरकार र भारत सरकारबिच सन् २००५ अगस्त ३ मा समझदारी भएको थियो ।