काठमाडौँ, पुस ४ गते । भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सूदुरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् । च्याम्पीयनसीपमा दोस्रो स्थान हासिल गरेको नेपालका लागि सबैभन्दा बढी सूदुरपश्चिम प्रदेशका खेलाडीहरुले स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगितामा सहभागी भएका सूदुरपश्चिम प्रदेशका कुनैपनि खेलाडी पदक विहीन नभएको नेपाल तेक्वान्दो सङ्घ सूदुरपश्चिम प्रदेश समितिले जनाएको छ । प्रतियोगितामा भारत पहिलो बन्दा नेपालले २८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेकोमा सूदुरपश्चिमका खेलाडीले सात स्वर्ण जितेका छन् ।
नेपालबाट ७० जना खेलाडी सहभागी भएका थिए । स्वर्ण पदक जित्ने सुदुरपश्चिमका खेलाडीहरुमा भुवन सार्की, पुर्णिमा भट्ट, हसिना राना, सोमु नेपाली, अनिष धामी, अस्मिता विक र दिपा राना रहनुभएको छ ।
सूदुरपश्चिमबाट सहभागीता जनाएका ११ खेलाडीमध्ये सात जनाले स्वर्णमाथि कब्जा जमाउँदा तीन जनाले रजत र एक जनाले कांस्य पदक जितेको तेक्वान्दो प्रशिक्षक श्रीराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार भीम धामी, विकास चौधरी र साईरा खड्काले रजत पदक जित्दा क्षितिज चौधरीले कांस्य पदक जित्नुभएको छ ।