• १२ मंसिर २०८१, बुधबार

दक्षिण एसियाली स्केटबोर्ड बिहीबारदेखि

blog

काठमाडौँ, पुस ४ गते । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ सङ्घ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौँ दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो भने स्केट जात्राको पाँचौँ संस्करण हो ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो । नेपालबाट एक सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

बाँकी प्रत्येक राष्ट्रबाट ४० खेलाडीलाई आमन्त्रण गरिएको सङ्घले जनाएको छ । पहिलो दिन छनोट चरणका खेलहरू हुने छन् । छनोट चरणबाट प्रत्येक राष्ट्रबाट १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रबाट आठ खेलाडी उपाधि होडमा प्रवेश गर्ने छन् ।

पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय अमेरिकी डलर र दुई सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गने छन् ।

तीनदिने प्रतियोगिताका खेलहरूले बुटवलको तिलोत्तमास्थित ढुङ्गा स्केट पार्कमा खेलाइने आयोजक सङ्घका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जानकारी दिनुभयो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष/महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गरिने बताइएको छ ।