राधा लुइटेल
फिदिम, पुस ४ गते । छोराहरूसँगको विवादमा धकेलाधकेल हुँदा पाँचथरको कुम्मायक गाउँपालिका १ गैरीगाँउका ८३ वर्षीय चन्द्रमान तामाङको ज्यान गएको छ ।
आपसी विवादका क्रममा ४५ वर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा पछारिएर तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार बिहान ८ बजे घनेन्द्रले आफ्ना बाबु चन्द्रमानलाई पैसा मागेको र नदिएपछि रिसले धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्द्रमानको मंङ्गलबार साँझ पनि छोराहरू घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो ।
बेलुका पख बाबुसँग भएको पैसाका विषयमा घनेन्द्र र देवेन्द्रले पनि झगडा गरेको खुलेका छ । घट्नाको जानकारी पाएपछि खटेको प्रहरी टोलीले मृतकका ४५ वर्षीय छोरा घनेन्द्र र ४० वर्षीय देवेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक कुँवरको भनाइ छ । मृतकलाई पोष्टमार्टका लागि पाँचथर अस्पताल ल्याइएको छ ।