अविनाश चौधरी
धनगढी, पुस ४ गते। धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङ कार्यविधि २०८० को विपक्षमा बहुसङ्ख्यक वडा अध्यक्षसहित कार्यपालिका सदस्य उभिएका छन्।
कार्यपालिकामा निर्णय नगरीकनै नगर प्रमुख गोपाल हमालको एकल निर्णयबाट कार्यविधि राजपत्रमा प्रकाशित भएको भन्दै उनीहरू कार्यविधिको विपक्षमा उभिएका हुन। असन्तुष्ट कार्यपालिका सदस्यहरूले सो कार्यविधि खारेजीको लागि आज धनगढी उपमहानगरपालिकामा प्रस्ताव दर्ता गराएका छन्।
कार्यविधि ल्याउने प्रक्रिया नै नपुगेको वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरिले बताउनुभयो। “कार्यविधि कसैले पढ्नै पाएन। एकैचोटी फेसबुकमा आइसकेपछि मान्छेले थाहा पाए”, उहाँले भन्नुभयो,“कार्यविधि ल्याउने प्रक्रिया छ। विभिन्न समितिमा छलफल गरेरमात्रै अगाडि बढाइन्छ। त्यो नगरीकन मङ्सिर २५ गते एकैचोटी राजपत्रमा प्रकाशित गरियो। ”
कार्यविधिमा नयाँ प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनु पर्ने व्यवस्था गरिएको छ। यसैगरी, जग्गा प्लटिङ गर्ने सम्बन्धित व्यक्ति वा संस्थाले धनगढी उपमहानगरपालिकाको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० र बस्ती विकास, सहरी तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ का व्यवस्था एवम् प्रावधानहरू पूरा गरी प्राविधिकबाट प्लटिङ नक्सा तयार गर्नु पर्ने र तोकिएको शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले यो कार्यविधि एजेण्डाको रूपमा आएको र पर्याप्त छलफल पनि भएको दाबी गर्नु भएको छ। उहाँले जग्गावालासँग बैठक बसिसकेपछि कार्यविधि खारेजीको निर्णय आएको जिकिर गर्नुभयो। “कार्यविधिलाई आजै टुङ्गाउनुपर्छ भनेर मैले जति सकिन्छ आजै बसौँ र ज जसलाई चित्त बुझ्दैन, नोट अफ डिसेन्ट लेख्नुस् भनेको थिएँ”, नगर प्रमुख हमालले भन्नुभयो,“त्यो बेला नोट अफ डिसेन्ट लेखिएन। तर, पछि जग्गावालाको बैठकपछि कार्यपालिका सदस्यबाट खारेजीको निर्णय भयो। कुनै पनि निर्णय गर्नलाई अफिस छ, होटलमा किन गरेको, कार्यपालिकाले गरेको निर्णय होटलमा बसेर यसरी उल्टाउँदै जाने हो भने कुन काम हुन्छ ?”