अमरराज नहर्की
तनहुँ, पुस ४ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा कर्मचारीको अभाव हुँदा दैनिक कामकाज प्रभावित भएको छ । कर्मचारीको अभावले गर्दा काम ढिलो हुने गरेकाले कार्यालयको परिसर सेवाग्राहीको भिडले भरिने गरेको छ । छिटो र छरितो रूपमा काम नहुँदा कार्यालयमा सधैँ भिड हुने गरेपनि समाधानमा भने ध्यान पुगेको छैन ।
वर्षौँ अगाडी कायम गरिएको दरबन्दी वृद्धि गरेर सेवा सहज बनाउनुपर्नेमा दरबन्दी अनुसारको कर्मचारी लामो समयदेखि नहुँदा सहज रूपमा सेवा प्रवाह गर्न नसकिएको कार्यालयले जनाएको छ । इलाका प्रशासन कार्यालय नहुँदा जिल्ला प्रशासनमा सेवाग्राहीको भिड लागेको छ भने सेवाग्राही टाढा देखि धाउनुपरेको छ । सेवाग्राहीको भिड लागेपनि जनशक्ति कम हुँदा घण्टौँ पालो कुर्नुपर्ने बाध्यता छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भिड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
इलाका प्रशासन कार्यालय नहुँदा सेवाग्राहीको दिनहुँ भिड लाग्ने गरेकोले छिटो र छरितो सेवा प्रदान गर्न समस्या परेको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो । सेवाग्राहीको भिड लाग्ने जिल्लाहरूमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरिएकोले तनहुँमा पनि सेवा लिनेको चाप धेरै भएकोले दुई वटा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक रहेको भण्डारीले बताउनुभयो । २७ जना मात्रै कर्मचारी भएकाले सेवा दिन कठिन भएको निमित्त प्रजिअ भण्डारी बताउनुहुन्छ ।
एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको भएपनि सुनुवाइ भएको छैन । कर्मचारी नहुँदा झेल्नु परेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि हाल सम्म स्थापन गरिएको छैन । पहिलेको जनसङ्ख्या अनुसार दरबन्दी कायम भएपनि अहिले जनसङ्ख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत ऋषिराम सुवेदीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, सङ्घ संस्था दर्ता, नवीकरण, पेन्सन सम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपि जस्ता कामका लागि दैनिक तीन सयभन्दा धेरै सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । जिल्लाको क्षेत्र नम्बर २ मा भीमाद र क्षेत्र नम्बर १ मा डुम्रे आसपासको क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना हुने भने यही सेवाग्राहीको चाप कम हुँदा यही जनशक्ति सहज रूपमा काम गर्न सक्ने भण्डारीले बताउनुभयो ।
भीमादमा स्थापना भए घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका सेवाग्राही सहज हुने र डुम्रेमा स्थापना भए भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका सेवाग्राहीलाई सेवा दिन सहज हुने भण्डारीको भनाइ छ । शैक्षिक प्रमाणपत्र सच्चाउने सिफारिसको लागि जिल्ला प्रशासन कार्यालय आउनु भएकी बन्दीपुर गाउँपालिका–१ नाहालाकी आदित्य खड्काले सेवाग्राहीको चाप धेरै हुँदा एक दिनमा काम पुरा नभएको गुनासो गर्नुभयो । खड्काले भन्नुभयो, "दश मिनेटमा हुने कामलाई घटौँ कुर्नुपदा दुःख लाग्यो ।" उहाँले सेवा सहजकताको लागि इलाका प्रशासन कार्यालय स्थापना हुनु आवश्यक परेको बताउनुभयो।