बिन्दु थापा
पाल्पा, पुष ४ गते । जिल्ला क्रिकेट सङ्घ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ । श्रेष्ठको लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा र त्यसपछि काठमाडौँमा उपचार भइरहेको थियो ।
तानसेन नगरपालिका–७, लामडाँडामा बस्दै आएका श्रेष्ठ गत मङ्सिर १४ गते अचानक बिरामी भई उपचारको लागी काठमाडौँ लगिएको थियो । परिवारका अनुसार उहाँको आन्तरिक रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा काठमाडौँमा निधन भएको हो ।
पेटको समस्या भएर सामान्य औषधी सेवन गरेका श्रेष्ठलाई आकस्मिक आन्तरिक रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएका छन् । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा सुधार नआएपछि काठमाडौँमा उपचारका लागि लैजानु परेको क्रिकेट सङ्घका उपाध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
श्रेष्ठ लुम्बिनी प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष साथै लुम्बिनी प्रदेशकै खेलाडी छनोट समितिका संयोजक समेत हुनुहुन्थ्यो । २०६० सालमा गठन भएको जिल्ला क्रिकेट सङ्घ पाल्पाको अहिलेसम्म नेतृत्व लिनुभएको थियो ।