• १२ मंसिर २०८१, बुधबार

वालिङमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

राष्ट्रपति रनिङशिल्डको उद्घाटन गर्नुहुँदै नगरप्रमुख कृष्ण खाण । तस्बिर : गोरखापत्र

राधाकृष्ण डुम्रे

वालिङ, पुस ४ गते । स्याङ्जाको वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मुलुक सङ्घीय संरचनामा गएपछि वालिङले पहिलो पटक प्रतियोगिता गरेको हो । 

वालिङ १० स्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा २५ विद्यालयका एक हजार विद्यार्थीको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयहरूका १८ वर्ष उमेर भित्रका विद्यार्थीहरूले भाग लिईरहेका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स र कबड्डीका १६ विधामा खेल हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख कृष्ण खाणले खेल क्षेत्रको विकासलाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । अहिले सम्म प्रतियोगिता विभिन्न कारणले हुन नसकेको भन्दै खाँणले अव यसलाई प्रत्येक वर्ष निरन्तरता दिने बताउनु भयो । 

पालिका भित्रका विद्यालयहरूलाई खेलमा सहभागी हुन प्रोत्साहनका लागि पालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको उपप्रमुख कविता तिवारीले कार्यक्रम जानकारी गराउनुभयो ।