• ११ असोज २०८१, शुक्रबार

मिटरबक्स ल्याउँछु भन्दै ठगी

blog

सांकेतिक तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, पुस ३ गते । बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनी ठग्ने सुमन बास्कोटाविरुद्ध स्थानीयले उजुरी दिएका छन् । सुनकोशी गाउँपालिका-१ को ढेबुवाघाट माझी बस्ती, साँधी र भिरगाउँका स्थानीयलाई मानेभञ्ज्याङ गाउँपालिका-६ थाक्लेका बास्कोटाले मिटरबक्स ल्याइदिन्छु भनेर रकम ठगी गरेका हुन् । 

ढेबुवा माझीगाउँका नौ घरलाई मिटरबक्स ल्याइदिन्छु भनेर ४६ हजार सात सय रुपियाँ लगेर काम नगरेको ढेबुवाका डिल्लीराम माझीले बताउनुभयो । आठ घरबाट पाँच हजार चार सय र एक घरबाट तीन हजार पाँच सय रुपियाँ लगेर मिटरबक्स नल्याएको माझीले बताउनुभयो । नौ महिनाअघि गीता माझी, विवेक माझी, धनबहादुर माझी, इबुराम माझी, रहबहादुर माझी, रविमाया माझी, डिल्लीराम माझी र गणेश माझीबाट बास्कोटाले पाँच हजार चार सयका दरले रकम उठाएर लगेका थिए । 

रविन माझीले बास्कोटालाई तीन हजार पाँच सय दिनुभएको बताउनुहुन्छ । स्थानीयबाट रकम लिएर लामो समय सम्पर्कविहीन बनेका बाँस्कोटाले ढेबुवाबासीलाई १५ हजार फिर्ता गरेको र बाँकी ३१ हजार सात सय फिर्ता गर्न बाँकी रहेको डिल्लीराम माझीले बताउनुभयो । मिटरबक्स, तार ल्याइदिन्छु भनी पैसा लगेर बाँस्कोटाले नल्याएको ढेबुवाका इबुराम माझीकाे भनाइ छ । ढेबुवाघाट माझी बस्तीमा अझै बिजुलीको लागि पोल तार पुगेको छैन । 

यस्तै, सुनकोशी गाउँपालिका–१ साँधीका युवराज राईसँग पनि २६ हजार रकम लिएका छन् । राईको दुई वटा घरमा मिटरबक्स ल्याउन छ हजार र वायरिङका लागि २० हजार रुपियाँ लिएर बास्कोटाले काम नगरेको राईले बताउनुभयो । रकम फिर्ता माग्दा पनि नदिएको उहाँको भनाइ छ । बास्कोटाले सोही गाउँका केही घरपरिवारलाई मिटरबक्स ल्याइदिने भनेर ६८ हजार लगेर सम्पर्कविहीन बनेको नरहरि राईले बताउनुभयो । 

राईका छोरा टालबाबु राईमार्फत बाँस्कोटाले ६८ हजार रकम लिएको तर मिटरबक्स नल्याएको नरहरि राईले बताउनुभयो । रकम फिर्ता गराउन र बास्कोटालाई कानुनी कारबाहीको माग गर्दै हर्कपुर प्रहरी चौकीमा उजुरी दिएको राईले जानकारी दिनुभयो । टालबाबुको केही महिनाअघि निधन भएपछि उहाँका बुवा नरहरि राईले बास्कोटाबाट स्थानीयको रकम फिर्ता लिन कानुनी प्रक्रिया थाल्नुभएको हो । 

बाँस्कोटाले बखलुकै भिरगाउँका १७ घरलाई मिटर बक्स ल्याउँछु भनेर स्थानीय मीनकुमार मगरमार्फत ५१ हजार रकम लगेको जानकारी प्राप्त भएको छ । रकम लिएर लामो समयसम्म सम्पर्कविहीन बनेका बाँस्कोटाले छ महिनापछि २० हजार फिर्ता गरेको र ३१ हजारको बैङ्कको चेक दिएको मगरले बताउनुभयो । बास्कोटाले बैङ्क खातामा पैसा नभएको चेक दिएर दुःख दिएको मगरले गुनासो गर्नुभएको छ । 

ढेबुवा, साँधी, भिरगाउँका स्थानीयलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम लगेर बास्कोटा बेपत्ता भएको गुनासो आएको सुनकोशी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो । बाँस्कोटालाई फोन सम्पर्क गरेर नागरिकबाट उठाएर लगेको पैसा फिर्ता गर्नुभन्दा पनि अटेर गरेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो। पटक-पटक समन्वय गर्न खोज्दा सम्पर्कमा नआउने र वडावासीको पैसा फिर्ता गर्नुभन्दा बेवास्ता गरेको वडाध्यक्ष सापकोटाको भनाइ छ । 

मिटरबक्स ल्याइदिन्छु भनेर बल्खु माध्यमिक विद्यालयबाट बाँस्कोटाले रकम उठाएर लगेको बुझिएको छ । यस विषयमा बुझ्न बास्कोटासँग फोन सम्पर्क गर्दा स्थानीयहरूबाट लगेको रकम फिर्ता गर्ने तयारीमा रहेको बताउँछन् । केहीको फिर्ता गरिसकेको र बाँकीको रकम पनि छिट्टै फिर्ता गर्ने बास्कोटाकाे भनाइ थियो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार बास्कोटाविरुद्ध प्रहरीमा ठाडो निवेदन परेको छ । यस विषयमा बाँस्कोटालाई सम्पर्कमा ल्याएर अनुसन्धान गरेर ठगी गरेको हो होइन यकिन हुने प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । बास्कोटाबाट पीडित नागरिकलाई प्रमाणसहित जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ । 

यसअघि सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारलाई पनि मिटरबक्स ल्याइदिन्छु भनेर लगेको रकम छ महिनापछि बाँस्कोटाले फिर्ता गरेका थिए ।