अमरराज नहर्की
तनहुँ, पुस ४ गते । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा-मुग्लिन अन्तर्गत पूर्वी खण्डको दुईतर्फी कालोपत्रे सुरु भएको छ । यातायात आवागमनलाई सहज बनाउन दुवैतर्फ कालोपत्रे कार्य सुरु भएको पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले जानकारी दिनुभयो ।
दुई लेन रहेको राजमार्ग विस्तार गरी हाल चार लेन बनेको छ । एकतर्फी दुई लेनको कालोपत्रे गरिएकोमा दुवैतर्फ कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । हालसम्म साढे १२ किलोमिटर कालोपत्रे सम्पन्न भएको र जस अन्तर्गत दुई किलो किलोमिटर दुवैतर्फ कालोपत्रे भइसकेको यादवले जानकारी दिनुभयो । एक साताभित्र थप तीन किलो मिटर गरी १५ किलोमिटर कालोपत्रे पूरा हुने गरी काम भइरहेको यादवले जानकारी दिनुभयो ।
पुस महिनामा ढिलो काम लाग्ने भएकोले तापक्रम कम हुने भएकोले कालोपत्रे गर्न केही ढिलाइ भएको उहाँले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाचोक, आँबुखैरेनी बजारदेखि मार्कीचोकसम्मको साढे चार किलोमिटर दूरीमा कालोपत्र कार्य अन्तिम चरणमा छ । आँबुखैरेनी गाउँपालिकाको ढकालटार क्षेत्रमा दुईतर्फी कालोपत्रेको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका चोकबाट सुरु गरी ढकालटार हुँदै गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र कार्य भइरहेको र अन्तिम चरणमा पुगेको यादवले बताउनुभयो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्र सयबाट सुरु गरी मार्किचोकसम्म गरी तीन किलोमिटर दूरीमा कालोपत्र कार्य सम्पन्न गरिसकेको छ ।
जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्न दिइएको छ । बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य सम्पन्न भएको यादवले जानकारी दिनुभयो । यातायात आवागमन सहजताका लागि दुई लेनलाई आलोपालो कालोपत्रे गरिने यादवले जानकारी दिनुभयो ।
चिनियाँ र नेपाली दुवै कामदारबाट काम भईरहेको यादवले बताउनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टाहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम तीव्र रुपमा भइरहेको यादवले बताउनुभयो । यादवले भन्नुभयो, ‘‘हालसम्म ४४ प्रतिशत काम पुरा भएको छ, यात्रुलाई यात्रा गर्न सहज होस् भने कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ ।’’ पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद वि.सं. २०८१ वैशाखसम्म छ ।
तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्रदेखि कास्कीको गगनगौँडाबाटसम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । पश्चिम खण्डको काम भने निकै सुस्त छ । यस खण्डको हालसम्म १२ प्रतिशत काम पूरा भएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो । पहिला काम सुस्त भएपनि हाल यस खण्डमा काम तीव्र पार्न थालिएको पौडेल बताउनुहुन्छ । रातमा समेत काम गरेकाे पौडेलले बताउनुभयो । पुल निर्माणलगायत कामका लागि ४० जना कामदारले रातको समयमा समेत काम गरिएको पौडेलले बताउनुभयो ।