तिलाचन पाण्डे
तम्घास, पुस ३ गते । गुल्मीमा एक सय ३५ खानेपानीका उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले योजनाको गुणस्तर कायम गर्नका लागि तालिम प्रदान गरेको जनाएको हो ।
कार्यालयका प्रमुख अनुज उपाध्याले खानेपानीको मुहानदेखि पिउने अवस्थासम्म सरसफाइका साथै यसबिचमा गर्नुपर्ने कार्यहरूको बारेमा जानकारी गराइएको बताउनुभयो । उपभोक्ता समितिका पदाधिकारीले सिकेको ज्ञानलाई गाउँमा गएर जानकारी गराउने र सोही अनुसार व्यवहारमा लागु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जैसीथोक खानेपानी योजनाका अध्यक्ष निमबहादुर पाण्डेले तालिमबाट धेरै ज्ञान सिकेको बताउनुभयो । उहाँले आफू लामो समय अवधिसम्म उपभोक्ता समितिको अध्यक्ष भएर काम गरे पनि पहिलो पटक तालिम लिएकाले निकै फलदायी भएको बताउनुभयो ।
पानी र जीवन एक साथमा जोडिएकाले मुहानदेखि धारामा आउने अवस्थामा गर्नुपर्ने कार्य र व्यवस्थापनको पक्षमा धेरै ज्ञान हासिल गरिएको र यो ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने बताउनुभयो ।
यस्तै, सुनाभद्र प्राथमिक विद्यालयका शिक्षक सीता खनालले तालिम निकै उपलब्धमुलक भएको बताउनुभयो । कार्यालयले तालिम समय समयमा दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले खानेपानीमा दिगोपना सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीको माध्यमबाट विभिन्न रोगहरू फैलन सक्ने भन्दै सरसफाइमा ध्यान दिन र सचेत रहन उहाँले आग्रह गर्नुभयो ।