• १५ मंसिर २०८१, शनिबार

फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा ल्याउने तयारी

blog

अर्जुन चौपारी गाउँपालिका ३ घट्टे निर्माण गरेको फोहोर व्यवस्थापन केन्द्र ।

अर्जुन काफ्ल 

स्याङ्जा, पुस ३ गते । गाउँपालिकाको फोहोर व्यवस्थापन गर्नेगरी निर्माण गरिएको अर्जुन चौपारी फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा ल्याउने तयारी गरिएको छ ।

मुख्य बजार अर्जुन चौपारी १ बजारको फोहोर खोलामा फालेर प्रदूषित भएपछि व्यवस्थापनका लागि वडा नं ३ को घट्टेमा बनेको यो केन्द्र निर्माण सकेको साढे दुई वर्षपछि प्रयोगमा ल्याउने तयारी भएको हो । 

यस्तै, पालिका अध्यक्ष प्रकाश तिवारीले निर्माणको लामो समयसम्म प्रयोगमा नल्याउँदा राज्यको लाखौँ खेर जाने देखिएपछि प्रयोगमा ल्याउने तयारी गरेको बताउनुभयो ।पालिकाले यहाँ रहेको सार्वजनिक र केही जग्गा चार लाखमा खरिद गरेर निर्माण गरिएको हो । 

बजारको फोहोर उल्टो बाटो तीन किलोमिटर प्रशोधन गर्नेमा लानुपर्ने बताउँदै तिवारीले फोहोर छुटाएर फेरी बोकेर ल्याउँदा दोहोरो खर्च हुने भएपनि लाखौँ खर्च यसै जाने देखिएकाले प्रशोधन गर्ने तयारी गरेको बताउनुभयो । सिसा, फलाम र प्लाष्टिकलाई फरक-फरक गरेर छुटाउन लगाएर पालिकाले प्रशोधन केन्द्रमार्फत बेचिने बताउनुभयो । 

व्यर्थमा राज्यको लाखौँ रुपियाँ गलत ठाउँमा प्रयोग भएको बताउँदै तिवारीले बाध्य भएर सोही ठाउँमा फोहोर व्यवस्थापन गर्नुपरेको बताउनुभयो । २०७६ माघ ७ गते सागर कन्स्ट्रक्सने ४६ लाख ९५ हजार ७२१ रुपियाँमा सम्झौता गरेर डेढ वर्षमा निर्माण सकेको थियो भने व्यवस्थापन केन्द्र निर्माण सक्न समग्रमा ५१ लख खर्च भएको छ । 

फोहोर व्यवस्थापन केन्द्र कुहिनेलाई मल बनाउने र नकुहिने (फलाम, सिसा र प्लाष्टिक) छुटाउने गरी निर्माण गरिएको हो । गाउँपालिकाले २७ मिटर लम्बाई र नौ मिटर चौडाइको व्यवस्थापन केन्द्र फलामको बिम गाडेर इट्टा, सिमेन्ट र जस्ता पाताको माध्यमबाट साइड बारेर जस्तापाताले नै छाएर भवन र शौचालय निर्माण गरिएको छ ।