राममणि दाहाल
हेटौँडा, पुस २ गते । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ ।
कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगहरुले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको हो ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स् इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बि वाई एस हेटौँडा प्रालिसँग हेटौँडा औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न गरिएको सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।
सनराइज कन्टेनर्सले प्लाष्टिकका बस्तुहरु, नाथ फुड्स् इण्डष्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङराेगन र बि वाई एस हेटौँडा विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायर लगायतका औजार उत्पादन गर्ने गरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेको थियो । उहाँले ती उद्योगहरुले उद्योग सञ्चालन गर्न सम्झौता गरी लामो समयसम्म पूर्वाधार निर्माण गरी उद्योग सञ्चालन नगरेको र जग्गा मात्र ओगटेकोले सम्झौता रद्द गरिएको बताउनुभयो ।
सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण कार्य सुरु गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याईसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबिच भएको सम्झौता स्वतः रद्द हुने सम्झौतामा उल्लेख छ । तर दुई वर्षभन्दा बढी भइसक्दा समेत हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्झौता रद्द गर्न सकेको थिएन ।
ती चार वटा उद्योगहरुले उद्योग सञ्चालन गर्ने भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग सम्झौता गरी जग्गा ओगट्दै आएका थिए ।