• १३ असोज २०८१, आइतबार

सातौं बागलुङ महोत्सव हुँदै

blog

बागलुङमा आयोजना गरिएको महोत्सव । फाइल तस्बिर

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस २ गते । पुसको ११ देखि सुरु हुने सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउनुहुने भएको छ । निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म महोत्सव हुनेछ ।  

महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धन हुने आशा समेत गरिएको छ । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । 'पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारा तय गरिएको उहाँले बताउनुभयो । राष्ट्रपति नै महोत्सवको उद्घाटन गर्न आउनुहुने भएपछि महोत्सवलाई भव्य बनाउन उद्योगी व्यवसायी र बजारवासीहरु जुटेको उहाँले बताउनुभयो । 

महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको उहाँले बताउनुभयो । महोत्सवमा एक सय २० भन्दा बढी स्टलहरुमार्फत् राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने उहाँले बताउनुभयो । महोत्सवमार्फत् आन्तरिक पर्यटकलाई जिल्लामा भित्रयाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष कँडेलले बताउनुभयो । 

महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन् ।