• २० वैशाख २०८१, बिहिबार

खेलकुदमा अब्बल कर्णाली बनाउने लक्ष्य छ : मुख्यमन्त्री शर्मा

blog

कालिञ्चोक क्रिकेट मैदानको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : नवीन शाही

नवीन शाही
सुर्खेत, पुस २ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभएको छ । सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शिलान्यास हुनु कर्णाली समृद्धिको अङ्गका रुपमा लिन सकिने उहाँले बताउनुभयो । ‘‘कर्णाली खेलकुदका क्षेत्रमा विस्तारै माथि उठ्दै छ । पूर्वाधार निर्माण र खेल प्रतियोगितामा हासिल गरेको प्रगतिले एकदिन कर्णालीको राष्ट्रिय पहिचान बनाउने विश्वास छ ।’’ मुख्यमन्त्री शर्माले भन्नुभयो, ‘‘खेलकुदका क्षेत्रबाट अब्बल कर्णाली बनाउनेमा हामी प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहान्छु ।’’

साथै, मुख्यमन्त्री शर्माले अहिले कर्णाली सरकार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको बताउनुहुँदै यसपश्चात कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो । 

शिलान्यास गरिएको उक्त कालिञ्चोक क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यसका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच निर्माण सम्झौता भएको छ ।

७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।