• २१ वैशाख २०८१, शुक्रबार

उपाध्यायलाई षडानन्द राष्ट्रिय पुरस्कार

blog

काठमाडौँ, पुस २ गते । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । 

आबाल ब्रह्मचारी षडानन्दको १८९ औँ जयन्ती एवं १६ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित पुरस्कार प्रदान समारोहमा संस्कृतिविद् डा. जगमान गुरुङले एक लाख रुपियाँ राशिको उक्त पुरस्कार उपाध्याय भट्टलाई प्रदान गर्नुभयो । उहाँ पूर्वीय दर्शनका विशिष्ट विद्वान्, तन्त्र र योगशास्त्रका चिन्तक, व्याख्याता तथा साधक हुनुहुन्छ । उपाध्याय भट्टले त्रिभुवन विश्वविद्यालय र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय सेवामा रही चार दशकभन्दा बढी समय पूर्वीय दर्शन, तन्त्रशास्त्र र योगशास्त्रको अध्ययन–अध्यापन तथा साधनामा र संस्कृत विश्वविद्यालयको पहिलो शिक्षाध्यक्षका रूपमा शैक्षिक प्रशासनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

त्यस्तै उपाध्याय भट्टले तन्त्रशास्त्रसम्बन्धी विभिन्न ग्रन्थहरू नेपाली भाषमा प्रकाशित गर्नुका साथै तन्त्र चिन्तामणि ग्रन्थको खोज तथा सम्पादन गरी यस क्षेत्रमा विशिष्ट कार्य गरेकोसमेत प्रतिष्ठानले जनाएको छ ।

समारोहमा षडानन्द क्षेत्रीय पुरस्कार वरिष्ठ साहित्यकार एवं आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको छ । छ दशकभन्दा लामो समयदेखि निरन्तर साहित्य साधनमा समर्पित प्रधानले उपन्यास, संस्मरण र बालसाहित्यलगायतका विधामा योगदान पु¥याएको कदरस्वरूप ५१ हजार रुपियाँ नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले नेपालको शिक्षा, संस्कृति, अध्यात्म समाज सुधार, जैविक विविधता र पर्यावरण संरक्षण, भाषा तथा लोकसंस्कृतिलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।