• ६ माघ २०८१, आइतबार

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

blog

सिमेन्ट उद्योग । फाइल तस्बिर

पर्सा, पुस १ गते । बारा-पर्सा औद्योगिक कोरिडरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठुलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन् ।

कोरिडमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिनुभयो । 

उहाँले बैङ्कहरूको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको हो । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग बन्द भएका अध्यक्ष अग्रवालले बताउनुभयो । भारतले नेपाली सिमेन्ट उद्योगलाई निः शुल्करुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन एक हजार कर लिँदै आएको छ ।

यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उहाँको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएको भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरूको भनाइ छ । रासस