• १० फागुन २०८१, शनिबार

सङ्घीयता अहिलेको आवश्यकता हो : पूर्वमन्त्री अधिकारी

blog

पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी ।

अर्जुन काफ्ले

स्याङ्जा, पुस १ गते । पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सङ्घीयता अहिलेको आवश्यकता भएको बताउनुभएको छ । 

आँधीखोला गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिड्ढ शिल्ड खेलकुदको उद्घाटन गर्दै आइतबार अधिकारीले सो कुरा बताउनुभएको हो । विकासको गति सुस्त अर्थात् ९ प्रतिशत मात्र काम भएको बताउँदै अधिकारीले विकासको गति र पुँजीगत बजेट बढाउनु पर्ने बताउनुभयो । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता अधिकारीले मध्यपहाडी लोकमार्गको एमाले अभियानले सङ्घीयता र गणतन्त्रमा अझै उत्साह देखिएको बताउनुभयो । 

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको बताउँदै नेता अधिकारीले दरबन्दी मिलान र मर्जरमा जटिलता रहेको बताउनुभयो । अभिभावकले विद्यार्थीलाई क्षमता हेरेर अगाडि बढ्न दिनुपर्ने नेता अधिकारीको भनाइ छ । 

खेलकुदले सम्बन्ध स्थापित, रोजगारी सिर्जना गर्ने बताउँदै नेता अधिकारीले भारत र पाकिस्तानको बोलचाल बन्द हुँदा पनि क्रिकेट, फुटबलजस्ता खेलले सम्बन्धलाई सुधार गरेको बताउनुभयो । उहाँले एक अस्पतालभन्दा सय रङ्गशाला बनाउनुपर्ने बताउँदै खेलकुदले मानिसलाई स्वास्थ्य समेत बनाउने बताउनुभयो । 

गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले हावादारी रूपमा विभिन्न प्रलोभन देखाएर बनाएको आन्दोलनको औचित्य नरहेको बताउनुभयो । स्थानीय रूपमा स्थापित दलले मात्र गाउँ तथा टोलको विकास गर्न सक्ने पौडेलको भनाइ छ । कार्यक्रममा पालिका अध्यक्ष विश्व पौडेल, उपाध्यक्ष सिता थापालगायतले मन्तव्य राख्नु भएको थियो ।