• १५ मंसिर २०८१, शनिबार

कमसल उप्काएर गुणस्तरीय कालोपत्रे

blog

उप्काएर फेरि बनाइएको कालोपत्रे अनुगमन गर्दै टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस १ गते । कोहलपुर नगरपालिका–१५ चौधरियामा निर्माण भइरहेको सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की) बनाइएको छ । 

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीसहितको अनुगमन टोलीले कालोपत्रे गुणस्तरीय नभएको भन्दै सडक निर्माण गर्ने निर्माण कम्पनीलाई सुधार्न निर्देशन दिएपछि कालोपत्रे उघारेर नयाँ अस्फाल्ट पिच बनाइएको हो । 

कोहलपुर नगरपालिकाका उपप्रमुख सुवेदीले उप्काएर फेरि कालोपत्रे गरिएपछि बल्ल सडक, सडकजस्तै बनेको पाइएको बताउनुभयो । सुवेदीको नेतृत्वमा रहेको अनुगमन समितिले पूर्वाधार निर्माणका कामहरूको अनुगमन गर्ने क्रममा वडा १५ को निर्माणाधीन सडकको अनुगमन गर्दा कोरकटिङ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्डअनुसार भेटिएको थिएन । 

उपप्रमुख तथा अनुगमन समिति संयोजक सुवेदीले तत्काल निर्माण कम्पनीलाई एक हप्ताभित्र मापदण्डअनुसार पुनः कालोपत्रे गर्न निर्देशन दिनुभएको थियो । उहाँको निर्देशनपछि करिब डेढसय मिटर कालोपत्रे उप्काएर निर्माण कम्पनीले एक हप्तामै पुनः कालोपत्रेको काम पूरा गरेको छ । 

कोहलपुर नगरपालिकाको ४७ लाख ४६ हजार २३४ रुपियाँको लगानीमा ‘बरको रुख अगाडिदेखि चौधरिया चोक’ सम्मको ४०० मिटर सडक कालोपत्रे गर्नेगरी खुसी विल्डर्सले ठेक्का लिएको थियो । 

साढे पाँच मिटर चौडाइ भएको उक्त सडकको बायाँतिरको करिब डेढसय मिटर खण्ड भत्काएर पुनः कालोपत्रे गरिएको योजना शाखा प्रमुख हरि वलीले बताउनुभयो । उहाँका अनुसार अहिले कालोपत्रेमा हुनुपर्ने थिक्नेश पुगेको छ । 

तर, गुणस्तरीय भए नभएको टुङ्गो भने ल्याबको रिपोर्टपछि थाहा हुने उहाँले बताउनुभयो । कोहलपुर नगरपालिकाको लागतमा निर्माण भएका योजनाको गुणस्तरीयता कायम राख्न अनुगमनलाई प्रभावकारी बनाइएको योजना शाखा प्रमुख वलीले बताउनुभयो ।

नगरपालिकाले बनाउने संरचनाहरू गुणस्तरीय बनाउन उद्देश्यसाथ अनुगमनलाई कडाइ गरिएको उपप्रमुख सुवेदीको भनाइ छ । उहाँले कमसल देखिएका ठाउँमा भत्काएरै पुनः बनाउनेदेखि विल भुक्तानीमा समेत कडाइ गरिएको बताउनुभयो । 

यस्तै, उपभोक्ता समितिबाट निर्माण हुने पाँच लाखभन्दा बढीका आरसीसी नालामा पनि समितिले क्युव टेस्ट सुरु गरेको छ । मसला र सरियाको गुणस्तरीयता जाँच गर्न क्युव टेस्ट गर्ने गरिएको अनुगमन समितिका सदस्य नरेश वान्तवाले बताउनुभयो । 

आइतबारको अनुगमनमा उपप्रमुख सुवेदी, नगरपालिकाका पूर्वाधार विकास समिति संयोजक नरेश वान्तवा, योजना शाखा प्रमुख हरि वली, अनुगमन समिति सदस्य लालबहादुर राना, साइड इन्चार्ज ताराबहादुर खत्री, वडा १५ का वडाअध्यक्ष दीपेन्द्र चौधरीलगायतको सहभागिता थियो ।