• २१ वैशाख २०८१, शुक्रबार

‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ कृति लोकार्पित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर ३० गते । लेखक तथा साहित्यकार यज्ञराज उपाध्यायद्वारा लिखित ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ नामक कृतिको यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । सो कृतिको वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ आज लोकार्पण गर्नुभएको हो । 

सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित सो पुस्तक लोकार्पण समारोहमा गुरुङले चुनाव जितेर मात्र माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताउनुभयो । लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उहाँको भनाइ छ । 

उहाँले नेताहरुले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताउनुभयो । आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागे पनि सरकारले सहयोग नगरेको उहाँको गुनासो थियो । उहाँले नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको चर्चा गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘नेपाल प्रज्ञा प्रतिष्ठानमा आएपछि मैले के कुरा उठाएँ भने सत्यमोहन जोशीको संयोजकत्वमा यस्तो काम गरेको छ । नेपाल चिनाउने ग्रन्थ छैन, अहिले नेपाल सात प्रदेशमा विभाजित भयो, सातै प्रदेशको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ रचना गर्नुपर्छ भनेर एउटा परियोजना सञ्चालन गर्ने लक्ष्य राखेको थियौँ । तर नेपाल सरकारबाट सहयोग भएन ।’

नेपाललाई चिनाउने इन्साइक्लोपिडिया अझै तयार नभएको उहाँको भनाइ छ । उहाँले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताउनुभयो । देउडा  गायक यज्ञराज उपाध्यायले रचना गर्नुभएको कृति महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधालाई केलाइएको उहाँले चर्चा गर्नुभयो ।  

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा प्रा.डा. वीणा पौड्याल, लेखक तथा कवि डा. नवराज लम्साल, सुवासचन्द्र भण्डारी लगायतले कृति र गायक उपाध्यायको रचनाबारे धारणा राख्नुभएको थियो ।