• १५ मंसिर २०८१, शनिबार

अहिलेको व्यवस्था सबैभन्दा उत्तम हो : महामन्त्री थापा

blog

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै कांग्रेस महामन्त्री गगन थापा। तस्बिर : रेखीराम राना

 रेखीराम राना

तानसेन, मङ्सिर ३० गते।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको व्यवस्था सबैभन्दा उत्तम व्यवस्था रहेको बताउनुभएको छ।  शनिबार पाल्पाको तानसेनमा कांग्रेसको प्रथम सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयता, शासकीय स्वरुपका विषयमा छलफल गर्न सकिने भए पनि व्यवस्थाको विषयमा छलफल हुन नसक्ने बताउनुभयो।  

केही दुई/चार जना नेताको कारणले व्यवस्था नै नराम्रो हो भन्ने तरिकाबाट कांग्रेस अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ।  व्यवस्था मात्र परिवर्तन गर्ने बहसले अर्को पुस्ताले थप २० वर्ष दुःख पाउने उहाँको भनाइ छ।  

महामन्त्री थापाले यही संविधानलाई टेकेर शासकीय स्वरुप, सङ्घीयताको विषयमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।  महामन्त्री थापाले भन्नुभयो, ‘‘कांग्रेस व्यवस्थाका विषयमा अलमलियो भने जनताले दुःख पाउने भएकाले अब कांग्रेस व्यवस्थाका विषयमा अलमलिनु हुँदैन।  पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउँदै अगाडि जानुको विकल्प छैन। ’’ 

नागरिकले अहिले पनि राम्रो दिन आएको महसुस गर्न नपाएकाले राम्रो दिन आयो भनेर जनताले भन्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो।  विगतदेखि भइरहेको भ्रष्टाचार र कुशासनको कारणले नागरिकमा व्यापक असन्तुष्ट रहेको महामन्त्री थापाले बताउनुभयो।  

देशमा व्याप्त भ्रष्टाचार र कुशासनलाई नेपाली कांग्रेसले नागरिकलाई जवाफ दिन सक्नुपर्ने महामन्त्री थापाले प्रष्ट पार्नुभयो ।  अन्य दललाई जस्तो कांग्रेसलाई नागरिकको प्रश्नबाट भाग्न मिल्ने अवस्था नरहेकाले प्रत्येक प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने उहाँको जिकिर छ।  अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि कांग्रेसले के हो भनेर जवाफ दिन सक्नुपर्ने बताउनुभएको छ।  

वि.स. २०४६ पछि सबै उच्च तहमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफूले संसदमा प्रस्ताव लैजान लागेको महामन्त्री थापाले जानकारी दिनुभयो।  कांग्रेसमा भएका थोरै मानिसले गरेको अपराधको भारी आठ लाख नेता कार्यकर्ताले बोक्नुपर्ने अवस्था आएको भन्दै सबैले खराब प्रवृत्तिविरुद्ध बोल्न सक्नुपर्नेमा उहाँको जोड 

 छ।  

सरकारमा कांग्रेस भए पनि अहिलेको सरकारले यो काम गर्यो भनेर भन्न सक्ने अवस्था भने नरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।